ठूलोखोला जलविद्युतकाे निर्माण प्रभावित

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

रघुगंगा गाउँपालिका–८, कुइनेमंगलेमा निर्माणाधीन २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनामा बाढीले निर्माण कार्य प्रभावित पारेको छ । अविरल वर्षापछि आएको बाढीले आयोजनाको बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि निर्माण कार्य प्रभावित बनेको आयोजनाका प्रमुख रवीन्द्र हमालले बताए ।

हेडवक्सतर्फ बाँध, बालुवा थिग्र्याउने पोखरीलगायतका पूर्वाधारमा बाढीले क्षति गरेको छ भने केही हाइड्रो मेकानिकल सामग्री पनि बगाएको छ । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर–त्रिपल एस जेभीले बाढीले ४५ लाखबराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको जनाएको छ । 

आयोजनाको एक मात्रै पहुँचमार्ग रहेको रघुगंगा गाउँपालिका–७, चिमखोलादेखि आयोजनास्थलतर्फ जाने सडकखण्ड अवरुद्ध हुन थालेपछि आयोजनाको निर्माण सामग्रीको ढुवानीमा समेत समस्या देखिएको छ ।

सन् २०२४ जुलाईमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनामा प्राकृतिक विपद्का कारण निर्धारित समयमै आयोजनालाई सम्पन्न गराउन चुनौती थपिएको आयोजना प्रमुख हमालले बताए । उनका अनुसार आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । रघुगंगा नदीको किनारमा रहने विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेमा अहिलेसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको छ ।  

सुझावित समाचार