वृद्धावस्थामा पुगेपछि एक साधुलाई आफू जीवनको अन्तिम प्रहरमा पुगेको महसुस भयो । उनले आफ्ना शिष्यहरूलाई आश्रममा बोलाए । सबै आइपुगेपछि उनले मुख ‘आँ’ गरेर देखाउँदै भने– मेरो मुखमा कति दाँत बाँकी रहेछन्, कसैले गन त । शिष्यहरूले ध्यानपूर्वक उनको मुख नियाले । सबैले एक स्वरमा भने– गुरुदेव, हजुरको मुखमा त एउटा पनि दाँत छैन । साधुले फेरि सोधे– मेरो जिब्रो त बाँकी छ नि होइन ? सबैले फेरि एकै स्वरमा जवाफ दिए– हो, हजुरको जिब्रो अझै बाँकी छ ।
साधुले हल्का मुस्कुराउँदै भने— म जन्मिँदा पनि मेरो मुखमा जिब्रो थियो । अहिले मर्ने समयमा पनि यो जस्ताको तस्तै सुरक्षित छ । मेरा दाँत मभन्दा आठ वर्षपछि जन्मिए, तैपनि ती सबै जिब्रोभन्दा अगाडि नै गइसके । यसको के कारण हुन सक्छ ? कसैले मलाई बताऊ त । शिष्यहरूले भने– हामीलाई यसको रहस्य थाहा छैन गुरुदेव ! हजुरले नै हामीलाई यसको रहस्य बताइदिनुपर्यो ।
पुनः अलि–अलि मुस्कुराउँदै साधुले भने– यही सब बुझाउन नै मैले तिमीहरूलाई यहाँ बोलाएको हुँ । जिब्रोमा माधुर्य थियो, कोमलता थियो । त्यसैले, त्यो आजसम्म मेरो मुखमा पहिलेजस्तै सुरक्षित छ । तर, दाँतमा सुरुदेखि नै कठोरता थियो । त्यसैले उनीहरू पछि जन्मेर पनि छिटै समाप्त भए । कठोरताका कारण उनीहरू दीर्घजीवी बन्न सकेनन् । त्यसैले, तिमीहरू पनि दीर्घजीवी बन्न चाहन्छौँ भने कठोरता छोड र कोमलतालाई ग्रहण गर ।