टेस्ट राष्ट्र जिम्बावे पनि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन असफल भएको छ । एसोसिएट राष्ट्र स्कटल्यान्डसँग मंगलबार सुपर सिक्समा ३१ रनले पराजित भएपछि जिम्बावे दोस्रोपटक विश्वकपमा पुग्न नसकेको हो । सन् १९८३ देखि विश्वकपमा सहभागी जिम्बावे लगातार दोस्रोपटक विश्वकप छनोटमा चुक्यो । सुपर सिक्समा पाँचै खेल खेलेको जिम्बावे रनरेटमा पछाडि रहँदा भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा पुग्न नसकेको हो ।
यसपटकको विश्वकपमा तीन टेस्ट राष्ट्रले स्थान बनाउन सकेनन् । जिम्बावेअघि दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज र आयरल्यान्ड विश्वकप छनोटमा असफल भएका थिए । जिम्बावेमै चलिरहेको छनोट प्रतियोगितामा श्रीलंकाले विश्वकपको टिकट पक्का गरिसकेको छ । जितसँगै स्कटल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको छ । स्कटल्यान्डले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्नेछ ।
नेदरल्यान्ड्सलाई हराउँदा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ । फराकिलो जितअन्तरले नेदरल्यान्ड्स विश्वकपमा पुग्नेछ । स्कटल्यान्ड र जिम्बावेको समान ६ अंक छ । रनरेटमा स्कटल्यान्ड अघि छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको चार अंक छ ।
बुलावायोमा स्कटल्यान्डले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३४ रन बनाएको थियो । जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाएर दुई सय तीन रन जोड्दा विश्वकप छनोटबाट बाहिरिएको हो । जिम्बावेका रायन बर्लले ८३ रनको योगदान दिए ।