नेपाललाई चौथो झड्का, ४८ रनमा अर्जुन आउट

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि आयरल्यान्डसँग खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ । जिम्बावेको हरारेमा जारी म्याचमा नेपालले २५औँ ओभरको अन्तिम बलमा एक सय ३ रनको स्कोरमा अर्जुन साउदलाई गुमाएको हो । नेपालको ओपनिङ इनिङ सम्हाल्न आएका अर्जुनले ८४ बल खेलेर ४८ रन बनाए । 

उनले दुई विशाल छक्का र चार चौका प्रहार गरे । स्पिनर गरेथ डेलेनीको बलमा उनी एलबिडब्लू समातिए । अम्पाएरको डिसिजनमा उनी खुसी भने देखिएनन् ।

२०औँ ओभरमा अर्जुनले ४० रनको स्थितिमा जीवनदान पाएका थिए। जर्ज डकरेल स्पिनरको सर्ट बललाई प्रहार गरेका अर्जुनको मिड विकेटमा क्याच छुटेको थियो । 

कुशलले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २७, ज्ञानेन्द्र मल्लसँग १७ र कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे । अर्धशतीय साझेदारी गरेलगत्तै रोहित आउट भएका थिए । 

२२औँ ओभरको पाँचौँ ओभरमा ९४ रनको अवस्थामा कप्तान रोहितलाई नेपालले गुमाएको थियो । ३५ बल खेलेका रोहितले २९ रन बनाए । एक छक्का र दुई चौका प्रहार गरेका रोहितलाई कर्टिस क्याम्फरले पेभेलियन फर्काए । 

यसअघि नेपालले १२.३ ओभरमा ४४ रनको अवस्थामा ज्ञानेन्द्रलाई गुमाएको थियो । क्रेग योङको उत्कृट आउट स्विङ बलमा एज लगाउन पुगेका ज्ञानेन्द्रलाई विकेट किपरले उस्तै उत्कृष्ट ड्राइभ क्याच लिँदै आउट गरे । 

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्डविरुद्ध ज्ञानेन्द्रले आफ्नो अनुभव सदुपयोग गर्न सकेनन् । जारी प्रतियोगितामा उनले दोस्रोपटक मौका पाएका थिए । १३ बल खेलेका उनले एक चौकाको सहायतामा सात रन बनाए ।

नेपालले आठौँ ओभरमा २७ रनको स्थितिमा कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । क्रेग योङको पहिलो ओभरको पहिलो बलमै संयम गुमाउँदा कुशल भुर्तेल आउट हुन पुगेका थिए । क्रेगले फालेको सर्ट बलमा अगाडि बढेर प्रहार गर्दा कुशल विकेट किपरको हातबाट समाएका थिए ।

सुझावित समाचार