डोल्पामा ठेकेदारबीच लेनदेन नमिल्दा बेलिब्रिज अलपत्र, जोखिम मोलेरै वारपार

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिका अन्तर्गत रुपगार्ड खोलाको बेलिब्रिज पुल एक वर्षदेखि निर्माणकार्य अलपत्र परेको छ। 

पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा बिल्डर्स प्रालिका प्रोपाइटर तेन्जिन लामा र रेट्रो टेक कम्पनीका प्रोपाइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा साढे दुई वर्षदेखि पुल निर्माणकार्य अलपत्र परेको हो।

भेरी करिडोरअन्तर्गत जिल्ला सदरमुकाम दुनै जोड्ने पुल ठेकेदार कम्पनीको निजी स्वार्थका कारण निर्माणकार्य अन्योल भए पनि काम सुचारु गराउन कसैको ध्यान जान सकेको छैन।

तोकिएको समयमा पुल निर्माणकार्य पूरा नहुँदा बर्खाको उर्लदो भेलमा काठको पुलबाट सवारीसाधन र पैदलयात्री जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। अहिले पुल बनाउनका लागि दुवैतिर आधार तयार गरिए पनि निर्माणका लागि ल्याइएका सामान अलपत्र छन्। 

त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड, खदांग वडा नं १ मा पर्ने त्रिपुराकोट र ठुलिभेरी नगरपालिका वडा नं ९ मा पर्ने रुपगार्ड गरेर चारवटा पुल निर्माणको जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले सम्झौता भएको मितिले एक वर्षभित्र काम सक्ने गरी ०७७ पुस ५ मा ४ करोड ५२ लाखमा निर्माणकाे जिम्मा लिएको थियो।

भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार चारवटा पुलको ठेक्का सडक सबडिभिजन कार्यालय चौहरजहारीले दुई चरणमा खुलाइएको थियो।

पहिलो चरणमा करोपगार्ड र खदांगको एउटा ठेक्का खुलाइएको थियो। त्यसको जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले दुई करोड २१ लाखमा लिएको थियो।

आफूले पाएको कामको जिम्मा डोल्पाको स्थानीय कृष्ण निर्माण सेवाका प्रोपराइटर राज न्यौपानेलाई बेचेको थियो। आफूले ठेक्का लिएअनुसार एक वर्षभित्रै तोकिएको समयभित्रै पुलको काम सेके पनि करिब ७० लाख भुक्तानी अझै नपाएको न्यौपानेले बताए। 

पहिलोचरणको ठेक्काको एक करोड ३६ लाख भुक्तानी भइसकेको र ८५ लाख भुक्तानी हुन अझै बाँकी रहेको भेरीकरीडोर कार्यालय जाजरकोटले जनाएको छ।

यस्तै, दोस्रो चरणमा त्रिपुराकोट र रुपगार्डमामा बेलिब्रिज पुल बनाउने कामको जिम्मा पनि इको इन्फ्रा बिल्डर्स प्रालिले दुई करोड ३१ लाखमा लिएको थियो।

आफूले पाएको काम कम्पनीले भ्याटबाहेक एक करोड २० लाखमा स्थानीय रेट्रो टेक कम्पनीका प्रोपराइटर वादल बुढालाई बेचेको थियो।

बुढाले आफूले जिम्मा पाएअनुसार त्रिपुराकोटको काम सम्पन्न गरेर रुपगार्ड खोलामा दुवैतिर संरचना निर्माणको काम समयमै सम्पन्न गरेको दाबी गरे। 

करिब ८२ लाख रकम पाएको र बाँकी ३८ लाख रकम पाउन बाँकी रहेकाले आफूले त्रिवेणीमा सामान रोकेको बुढाले स्विकार गरे ।

‘काम गरेको रकम लामो समयदेखि पाएको छैन्। सम्पर्क गर्न खोज्दा मुख्य ठेकेदार उदारो बाँकी रकम भुक्तानी गर्ने चासो देखाउँदैन।  त्यही कारणले पनि पुल निर्माणमा ढिलासुस्ती भएको हो,’ उनले भने, ‘आफूले पाउन बाँकी रकमको ५० प्रतिशत भएपनि अहिले दिए हुन्छ। बाँकी भुक्तानी पछि दिए हुन्छ। कि त मुख्य ठेकेदारले काम सकेपछि सम्पूर्ण दिन्छु भनेर कागज गर्नुपर्यो। मुख्य ठेकेदारले बाँकी पैसा नदिँदा कामदारलाई समेत पैसा दिन सकिएको छैन।’

यदि तोकेको प्रक्रिया पूरा नभए काम सुरु नगर्ने र गर्न पनि नदिने बुढाले बताए। यता इको इन्फ्रा बिल्डर्सका प्रतिनिधि रेञ्जिन लामाका अनुसार आफूले बुढालाई २५–२६ लाखको हाराहारीमा मात्र भुक्तानी गर्न बाँकी रहेको बताए।

‘हामीले डोल्पाका अन्य स्थानीय ठेकेदारलाई पनि लाखौँ रकम दिन बाँकी छ। उनीहरुले भुक्तानी पछि दिँदा हुन्छ भनेर काममा सहयोग गरिरहेका छन्। तर, बुढाले भने काम अड्काइरहेका छन्। हामीले अन्तिम भुक्तिानीमा बाँकी उदारो चुक्ता गर्छौँ भनेकै छौँ,’ लामाले भने, ‘विभिन्न निकायको दबाब आएकाले एक महिना अघि डोल्पा पुगेर काम पनि सुरु गरेको हुँ। तर बुढाले तल्नुबगरबाट पुलको सामान बोकेको ट्रक नै त्रिवेणी बजारमा मान्छे लाएर रोकिदिएपछि त्यसै फर्के।’ 

लामाले थपे, ‘म डोल्पा गएको बेला बुढासँग बसेर छलफल गर्ने र काम सुरु गर्ने भनेर सम्पर्क गर्ने धेरै प्रयास गरे। तर, उनी सम्पर्कमै नआएपछि म काठमाडौं फर्किएँ।’ 

यो कामको एक करोड ५३ लाख भुक्तानी भएको र ७८ लाख भुक्तानी गर्न बाँकी भएको कार्यालयले जनाएको छ। मुख्य ठेकेदार तेन्जिन लामाले प्रशासन, स्थानीय ठेकेदार, स्थानीय सरकारर, पत्रकार कसैको पनि फोन उठाएका छैनन् ।

बेलिब्रिज पुलको सामान आधा तल्नुबगर, त्रिवेणी, करोपगार्ड, त्रिपुराकोट र रुपगार्डलगायतका विभिन्न ठाउँमा बेवारिसे रुपमा अलपत्र परेको छ।

यता ठुलिभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले मुख्य ठेकेदार, स्थानीय सहायक ठेकदार र भेरी करिडोर कार्यालयको लापर्बाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको बताए।

‘पुल अलपत्र भएको दुई वर्षभन्दा धेरै भइसक्यो,ठेकेदार र सम्बन्धित कार्यालयलाई जति ताकेता गर्दा पनि सुनुवाइ भएन्। ठेकेदार र कार्यालयको कमजोरीले डोल्पावासी नै अन्यायमा परेको महसुस भएको छ,’ उनले भने, ‘जिल्ला प्रशासन, स्थानिय सरकार र सरोकारवाला लाग्दा एउटा व्यक्तिले पनि नटेर्नु  देशमा कानुन नभएकोे अनुभूति भएको छ। अब भने एक्सनमै उत्रिन्छु।’

उनले त्यसरी पनि काम अगाडि नबढे डोल्पाली जनता लिएर भेरी करिडोरको कार्यालय घेरा गर्न जाजरकोट जाने र कम्पनीलाई कालोसूचीमा हाल्नेलगायतका काम लाग्ने बताए। 

यता प्रमुख जिल्ला अधिकारी भुमिश्चवर पोख्रेलले आफू डोल्पा पुगेको भोलिपल्ट देखि नै पुल निर्माण कार्य सुरु गराउनतर्फ लागे पनि सुनुवाई नभएको बताए।

‘हामीले विभिन्न चरण मुख्य ठेकेदारका प्रतिनिधि र स्थानीय ठेकेदारसँग पनि चरणवद्ध छलफल भयो। तत्काल काम सुरु गर्ने सहमति पनि भयो। ठेकेदारले टेरेनन्। काम सुरु पनि भएन’, पोख्रेलले भने, ‘रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी सँग पनि कुरा भइसकेको छ,भेरी करिडोरका कार्यालय प्रमुख सँग पनि कुरा भएको छ,ठुलिभेरी नगरपालिकाका मेयर पनि लाग्नुभएको छ,आन्तिरिक सहमति जुटाएर यथाशिघ्र काम सुरु नभए कानुनि कारबाहीका लागि दबाब दिन्छौँ।’

बर्खाको समयमा पुल नहुँदा नगरपालिकाले बनाएको काठेपुलबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको प्रजिअ प्रोख्रेलले बताए।

यता भेरीकरिडोर कार्यालय जाजरकोटका प्रमुख सुरज अधिकारीले सडक सबडिभिजन कार्यालयले ठेक्कालगायतका सबै उसैले गरेको र आफ्नो कार्यालयको जिम्मा आएको धेरै नभएकाले अहिले पुल निर्माण सुरु गराउन लागिरकेको बताए।

‘म कार्यालयमा आएदेखिनै निर्माण व्यवसायीसँग समन्वय गर्न जुटिरहेको छु। जोसँग सम्झौता भएको छ, त्यही कम्पनी र ठेकेदारलाई मात्र चिन्छौँ। अब काममा ढिलासुस्ती भए नियम अनुसार के के गर्नुपर्छ सबै गर्छु,’ उनले भने, ‘डोल्पाका स्थानीय निर्माण व्यवसायिले पनि काम रोक्नु भएन्। आफ्नै गाउँ ठाउँको विकासका लागि ठूलो मन गर्नुपर्यो। पुल सबै नबनेकाले रकम भुक्तानी गर्न बाँकी छ। उहाँहरुले पाउन बाँकी रकम भुक्तानी हुँदा पाउने व्यवस्था मिलाइन्छ।’

अब मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच समन्वय गराएर छिट्टै काम सुचारु गराउने उनले प्रतिबद्धता व्यक्त गरे। निर्माण कम्पनीले म्याद थपका लागि पत्र पठाए पनि म्याद थप नभएको जानकारी दिए। 

जग्गाधनीको पनि अवरोध

रुपगार्ड खोलामा पुल निर्माणमा स्थानीय जग्गाधनीको पनि अवरोध छ। पुल निर्माणकालागि बनाइएको आधार आफ्नै जग्गामा परेको र पुल बनेपछि सवारीसाधन आफ्नै जग्गाबाट वारवार गर्ने भएकाले आवश्यक मुअब्जा नपाउन्जेल पुल बन्न नदिने जग्गाधनीको भनाइ छ।

उक्त पुल बन्ने ठाउँमा ठुलिभेरी नगरपालिका–७ का युवराज शाही, इन्द्र रोकाय र मुड्केचुला गाउँपालिकाका स्थानीय मालबहादुर रोकायाको जग्गा परेको छ।

आफूहरुले जग्गाको उचित क्षतिपूर्ति नपाउन्जेल काम अघि बड्न नदिने जग्गाधनी शाहीको भनाइ छ। 

सुझावित समाचार