सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनायो। 

खेलको सुरुवातमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी निभाए। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए।

यस्तै, यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यसैगरी, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए। 

बलिङतर्फ सिंगापुरका हरिहरनले तीन तथा हर्ष वेंकटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए। एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिंगापरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए। 

बलिङतर्फ नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले एक-एक विकेट लिए।

सुझावित समाचार