‘नाफाखोर’ बन्दै आयल निगम

आइओसीको बक्यौता चुक्ता गरेर पनि महिनामा तीन अर्ब नाफा, तर उपभोक्ता मूल्य घटाइएन

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगमले ‘नाफाखोर चरित्र’लाई निरन्तरता दिँदै असार महिनामै तीन अर्बभन्दा बढी मुनाफा आर्जन गर्दा पनि उपभोक्तालाई पेट्रोलियमको मूल्यमा राहत दिएको छैन । आयल निगमले १ देखि १५ असारसम्म एक अर्ब ६५ करोड मुनाफा आर्जन गरिसकेको छ । त्यस्तै, १६ गतेदेखि असार मसान्तसम्म थप एक अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । यसरी महिनामै तीन अर्ब २५ करोड नाफा गर्ने लक्ष्य राख्दा निगमले हवाई इन्धनमा सामान्य मूल्य घटाउनुबाहेक अन्य पेट्रोलियमको मूल्य स्थिर राखेको छ । 

आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा तेल खरिदको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार शनिबार (१ जुलाई)मा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य सामान्य दरमा बढाएर तथा ग्यासको मूल्य ठूलो दरले घटाएर पठाएको छ । निगमका अनुसार पेट्रोल ४१ पैसा र डिजेल २.२० रुपैयाँ प्रतिलिटर बढेर आएको छ भने ग्यासको मूल्य करिब एक सय ७० रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ ।

विगतदेखि नै चर्को नाफा राखेका कारण पेट्रोल र डिजेलको मूल्य यसपटक सामान्य दरमा बढेर आए पनि निगमको नाफाको ग्राफ घट्न पाएको छैन । नयाँ मूल्यसूचीमा पनि निगमलाई पेट्रोलमा १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ र निम्न वर्गीयले प्रयोग गर्ने मट्टीतेलमा २७ रुपैयाँ प्रतिलिटर नाफा छ ।

आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा २७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा ५७ रुपैयाँ प्रतिलिटर नाफा छ भने खाना पकाउने एलपी ग्यासमा वर्षाैँदेखि व्यहोर्दै आएको घाटा हटेर प्रतिलिटर करिब सात रुपैयाँ नाफा हुन थालेको छ ।

यति ठूलो दरमा नाफा भएकाले निगमले आगामी १५ दिनमा एक अर्ब ६० करोड मुनाफा गर्ने प्रक्षेपण गरेको प्रवक्ता मनोज ठाकुरले बताए । उनले निगमको ऋण र अन्य दायित्व फरफारक गर्न बाँकी नै रहेकाले तुलनात्मक रूपमा अलि बढी नाफा राख्नुपरेको जिकिर गरे ।

‘आइओसीको २४ अर्ब रुपैयाँ बक्यौता त करिब तिरिसक्यौँ । तर, सरकारको ऋण तिर्न बाँकी छ भने बक्यौता तिर्न विभिन्न कोषबाट प्रयोग गरेको रकमसमेत भर्पाई गर्नुपर्ने बाध्यतामा छौँ,’ उनले भने । सरकारबाट निगमले सात अर्ब ऋण लिएको र पाँच वर्षमा १० किस्ता गरेर तिर्ने सम्झौता छ । यो सम्झौताअनुसार पहिलो किस्ता ७० करोड निगमले बुझाइसकेको छ भने असार मसान्तमा थप अर्को किस्ताबापत ७० करोड बुझाउने ठाकुरले बताए ।

आयल निगमले विभिन्न दायित्व देखाएर पेट्रोलको मूल्य नघटाएको तीन महिना भइसकेको छ । निगमले अन्तिमपटक २० चैतमा पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घटाएर एक सय ७५ रुपैयाँ कायम गरेको थियो । त्यसयता बजारमा यही मूल्य कायम छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि डेढ महिनाअघि निर्धारण गरेको एक सय ५५ रुपैयाँ प्रतिलिटर नै 
कायम छ ।प्रत्येक भान्सामा अत्यावश्यक मानिएको खाना पकाउने एलपी ग्यासको मूल्य डेढ वर्षदेखि यथावत् (प्रतिलिटर १८ सय रुपैयाँ) कायम छ ।

कार्यकारी निर्देशक उमेशप्रसाद थानीले डेढ वर्षदेखि निगमको नेतृत्व लिएयता मुनाफालाई मात्रै ध्यान दिँदै आएका छन् । उनले यसबीचमा उपभोक्तामैत्री निर्णय गर्न सकेका छैनन् ।उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बक्यौता नरहेको अवस्थामा निगमले चर्को नाफा राखेर मूल्य नघटाउनु उपभोक्ताप्रति ज्यादती भएको बताए । उनले तुरुन्तै पेट्रोलियमको मूल्य नघटे आमउपभोक्ताले निगम घेराउ गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मूल्य घटाउन प्रधानमन्त्रीले फेरि हस्तक्षेप गर्नुपर्छ 
माधव तिमिल्सिना, उपभोक्ताकर्मी

हिजोसम्म आइओसीको बक्यौता देखाएर पेट्रोलियको मूल्य घटाइएको थिएन । तर, अहिले बक्यौतासमेत तिरिसकेको अवस्थामा चर्को नाफा राख्नु उपभोक्ताप्रति निगमको गैरजिम्मेवारी चरित्र हो । निगमले सधैँ विभिन्न बहानामा नाफाखेर प्रवृत्ति दोहोर्याइरहेको छ । अब फेरि एकपटक प्रधानमन्त्रीज्यूले हस्तक्षेप गरी पेट्रोलियमको मूल्य घटाउन दबाब दिनुपर्छ । उपभोक्ताले पनि निगमको कार्यालय घेराउ गरेर दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखेको छु ।

सुझावित समाचार