कवि जुनू घिमिरेको कविता कृति ‘पसिनाको घर’ धनकुटामा लोकार्पण गरिएको छ। सल्लेरी साहित्य संगमको आयोजना र जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका– ७ समितिको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा खोज अनुसन्धानकर्ता टीकाप्रसाद घिमिरे, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईं, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, जेष्ठ नागरिक संघ धनकुटा वडा नम्बर ७ समितिका अध्यक्ष बुद्धिकान्त घिमिरे, जेष्ठ नागरिक टीकाप्रसाद घिमिरे, कवि घिमिरेकी आमा विमलालगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
घिमिरेले आफ्नो पहिलो कृतिका रूपमा ‘पसिनाको घर’ सार्वजनिक गरेकी हुन्। प्रकृति, संस्कृति, मानवीय जीवन र रहस्य, कर्तव्यप्रतिको सचेतता, राष्ट्रप्रेम, व्यंग्य, नारी अस्तित्व, युगानुकूल मानवीय चेतना, र व्यवहारलगायत पक्षका कविता संग्रहमा संग्रहित छन्।
पुस्तकको आवरण चित्र कलाकार उमेशचन्द्र अधिकारीले बनाएका छन् भने जुपिटर प्रिन्टिङ एण्ड पब्लिसिङ हाउस प्रालिले प्रकाशन गरेको छ।