चलायमान भयो ‘एक्सन रुम’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लामो समयदेखि निष्क्रिय रहेको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)को सञ्चालन थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार यहीँबाट दुईवटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरे ।
नारायणप्रसाद भट्ट, प्रवक्ता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रधानमन्त्रीज्यूले अब अन्य राष्ट्रिय गौरवका आयोजनाको पनि एक्सन रुमबाट अनुगमन गर्ने बताउनुभएको छ
कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार प्रचण्डले एक्सन रुमबाट राष्ट्रिय गौरवका भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाको अनुगमन गरेका हुन् । प्रधानमन्त्रीले अनुगमन गरेका आयोजनाको प्रगति र समस्याबारे जानकारी लिएका थिए । भेरी–बबई डाइभर्सनको सुरुङ निर्माण पूरा भए पनि बाँधस्थल, विद्युत्गृहलगायतको काम चलिरहेको छ ।
०७७ मै आयोजनाको कुल १२.२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन । सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ र जलाधार संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यले ०६८/७९ देखि यो आयोजना सुरु गरिएको थियो । आयोजनाबाट भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य छ । आयोजनाबाट ४६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसमेत छ । यो नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तरजलाधार स्थानान्तरण आयोजना हो । चालू आवमै सक्ने भनिए पनि आयोजनाको काम अझै बाँकी छ ।
अनुगमनका क्रममा आयोजना प्रमुख दिनेश भट्टले आयोजनाको विद्यमान अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराए । कोभिडको असर र परामर्शदाता कम्पनीको अभावलगायतका कारण काममा असहज भएको उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएको बताए ।
एक्सन रुमबाटै प्रधानमन्त्री प्रचण्डले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको पनि अनुगमन गरे । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनाबाट तराई मधेसका एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सिँचाइका अतिरिक्त २८.६२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि छ ।
आयोजना प्रमुख मित्र बरालले सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत पुगेको बताए । आयोजनामा १३ किलोमिटर लामो सुरुङ हुनेछ ।
टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको भन्दै आयोजना प्रमुख बरालले विद्युत्गृह र बाँध तथा प्रसारण लाइन निर्माणको काम चलिरहेको बताए । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण सकिने दाबी उनले गरे । ऊर्जामन्त्री बस्नेतले यस आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे । चालू आवको सबै बजेट भुक्तानी भइसकेको र तत्काल थप बजेट उपलब्ध गराउन पहल गरिदिन उनले प्रधानमन्त्रीसँग आग्रह गरे ।
एक्सन रुमबाट नियमित अनुगमन गर्ने प्रतिबद्धता
बुधबार एक्सन रुमबाट प्रधानमन्त्री प्रचण्डले करिब डेढ घन्टा आयोजनाको अनुगमन गरेका थिए । एक्सन रुमबाट हुने अनुगमनलाई नियमित गराउने प्रधानमन्त्रीले बताएका कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले बताए । ‘प्रधानमन्त्रीज्यूले अब अन्य राष्ट्रिय गौरवका आयोजनाको पनि एक्सन रुमबाट अनुगमन गर्ने बताउनुभएको छ,’ उनले भने । तोकिएको लक्ष्य र माइलस्टोनअनुसार समयमै आयोजना सम्पन्न गर्न प्रधानमन्त्रीले मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई निर्देशन दिएका थिए । स्रोतसाधन, जनशक्ति, उपकरण, प्रविधि इत्यादिको अभाव भए त्यसका लागि सरकारले पहल गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाएका थिए ।
अनुगमनका क्रममा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमित रूपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताए । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा चार करोड ९० लाख रुपैयाँ लागतमा कार्यालयमा ‘एक्सन रुम’ संरचना बनेको थियो । ठूलो लगानीमा संरचना बने पनि यसको नियमित उपयोग भने हुन सकेको छैन । एक्सन रुमबाट साढे तीन वर्षयता कुनै पनि विकास आयोजनाको अनुगमन भएको छैन भने ०७८ चैतयता डिजिटल कन्फ्रेन्स पनि भएका छैनन् ।
प्रधानमन्त्रीज्यूले अब अन्य राष्ट्रिय गौरवका आयोजनाको पनि एक्सन रुमबाट अनुगमन गर्ने बताउनुभएको छ