एसिसी यू– १६ मेन्स इस्टर्न रिजन कप– २०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।
त्यस्तै, सूर्यांशु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान दुई–दुई विकेट लिए भने सादा र पियावत नेद्रीले सामान एक–एक विकेट लिए ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन्। थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । थाइल्यान्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।