साफमा १५ वर्षपछि पाकिस्तानविरुद्ध जित

१४औँ साफ च्याम्पियनसिपको समूह ‘ए’को अन्तिम खेलमा आशिष चौधरीको डेब्यु गोलमा नेपालले पाकिस्तानलाई १–० ले हरायो, पाकिस्तानविरुद्ध १५ वर्षपछि यो जित मिलेको हो

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि  भारतको बेंग्लोरमा चलिरहेको १४औँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिप सुखद रहेन । तीनमध्ये दुई खेलमा हारले नेपाललाई समूह चरणभन्दा माथि उक्लन दिएन । तर,  समूह चरणको अन्तिम खेल नेपालका लागि विशेष रह्यो । किनकि, १५ वर्षपछि साफमा नेपालले पाकिस्तानविरुद्ध जित हात निकाल्यो ।  

मंगलबार समूह ‘ए’को आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको हो । सान्त्वना जितसँगै नेपालले १४औँ साफको यात्रा टुंग्याएको छ । नेपाललाई अन्तिम खेलमा जित दिलाउने क्रममा आशिष चौधरीले डेब्यु गोल गरे । फिफाको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानको १४औँ साफको यात्रा सुखद भएन । पाकिस्तानले समूहका सबै तीन खेल गुमायो । पहिलो खेलमा पाकिस्तान आयोजक भारतसँग ४–० ले पराजितभयो । दोस्रो खेलमा साफको आमन्त्रित टोली कुवेतसँग पनि पाकिस्तान ४–० ले नै पराजित भएको थियो ।

यता, नेपाल भने उद्घाटन खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल भारतसँग भिडेको थियो । भारतसँगको खेल २-० ले गुमाएपछि नेपाल एक खेलअघि नै समूहचरणबाट बाहिरिएको थियो । कुवेतविरुद्धको खेलमा नेपाल स्ट्राइकर अञ्जन विष्टले एक मात्र गोल गरेका थिए । नेपाली फुटबल इतिहासमा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न अञ्जन एक गोलले टाढा छन् । नेपालका लागि नीराजन रायमाझी र हरि खड्काले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यी दुवै खेलाडीका रेकर्ड पछ्याइरहेका अञ्जन पाकिस्तानसँगको खेलमा बेन्चमै बसे । 

साफ च्याम्पियनसिपको साबिक उपविजेता नेपाल सन् २०१५ पछि समूह चरणबाट बाहिरिएको हो । नेपाल र पाकिस्तानबीच १७ पटक खेल भएको छ । नेपालले पाँच खेलमा जित निकालेको छ । पाकिस्तानले नेपालमाथि ७ खेलमा जित हात पार्‍यो । यी दुई राष्ट्रबीच पाँच खेल बराबरीमा सकिएका छन् । गत वर्ष नेपालले मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १–० ले हराएको थियो । 

आशिषको निर्णायक गोल
बेंग्लोरको कान्तिराव रंगशालामा नेपाल र पाकिस्तानबीच पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ८०औँ मिनेटमा नेपालले १–० को अग्रता लियो । लाकेन लिम्बूले डिबक्सबाहिरबाट दिएको पासमा आशिषले सशक्त भली प्रहार गर्दै बललाई जाली चुमाए । 

प्रशिक्षक भिन्सेन्जोले साफ च्याम्पियनसिपमा युवा खेलाडीलाई बढी मौका दिने क्रममा आशिषलाई दुई खेलमै प्रतिस्पर्धा गराए । आशिषले कुवेतविरुद्धको पहिलो खेलमा ७३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय खेलको एक्सपोजर लिने क्रममा उनले १७ मिनेट मैदानमा बिताए ।

कुवेतसँग औसत प्रदर्शन गरेका आशिषले भारतसँगको खेलमा मौका पाएनन् । पाकिस्तानसँगको खेलमा उनले दोस्रो हाफमा पूरै समय बिताए । समग्रमा आशिषले साफ च्याम्पियनसिपमा ६३ मिनेट मैदानमा बिताए । नेपाललाई महŒवपूर्ण जित दिलाउने क्रममा निर्णायक गोल गरेका आशिष दंग छन् । उनले राष्ट्रिय टोलीबाट गोल गर्ने सपना पूरा भएको बताएका छन् । ‘मेरो सपना पूरा भएको छ,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अझ राष्ट्रका लागि धेरै गर्न बाँकी छ ।’ 

घरेलु फुटबलमा उनी चर्च ब्वाइज क्लबसँग आबद्ध छन् । गत महिना सहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा चर्च ब्वाइजले पहिलो सहभागितामै उपाधि जित्ने क्रममा आशिषको महत्वपूर्ण योगदान थियो । चर्च ब्वाइज ‘बी’ डिभिजनमा बढुवा हुँदा पनि उनको प्रदर्शन तारिफयोग्य थियो । ‘बी’ डिभिजन लिगमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । 

दुवै हाफमा गोल अवसर
पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपालले धेरै गोल अवसर सिर्जना गरेको थियो । यद्यपि, नेपाली खेलाडीले पाकिस्तानको डिफेन्स दोस्रो हाफमा एकपटक मात्र तोडे । पहिलो हाफ सकिन लाग्दा विमल घर्तीमगरले डिबक्सभित्रबाट प्रहार गरेको बललाई पाकिस्तानका गोलरक्षक युसुफ बटले सहजै बचाए । खेलको ६८औँ मिनेटमा नेपालले अग्रता लिन चुकायो ।

 देवेन्द्र तामाङले बायाँ साइडबाट प्रहार गरेको फ्रिकिक बल क्रसबारमा लागेको थियो । खेलको ७०औँ मिनेटमा एरिक विष्टको प्रहार पनि पोस्टमा लागेको थियो । खेलको अन्तिम इन्जुरी समयमा नेपालले सहज अग्रता अवसर गुमायो । पाकिस्तानको डिबक्सभित्र लाकेन लिम्बू र नवयुग श्रेष्ठले गोल गर्न सकेनन् । 

समग्रमा नेपालको प्रदर्शनबाट खुसी छु 
भिन्सेन्जो अल्बर्टो, प्रशिक्षक, नेपाल 

समग्रमा साफ च्याम्पियनसिपमा हामीले राम्रो प्रदर्शन गरेका छौँ । सबै खेलाडीले राम्रो खेले । नेपालको प्रत्येक खेलमा मैले इन्जोए गरेँ । खेलाडी परिवर्तन गरेँ । नेपाली खेलाडीमा पोटेन्सियल र व्यक्तिगत क्षमता छ । यसबीच हामीलाई समय चाहिन्छ । कम तयारीका बाबजुद हामीले साफमा जे गर्‍यौँ, त्यो धेरै हो । पहिलो हाफमा हामीले दुई अवसर बनायौँ, तर गोल भएन । पाकिस्तानसँगको खेलमा समयअनुसार हरेक क्षेत्रमा अपडेट गर्‍यौँ । हामीले स्ट्राइकरलाई मौका दियौँ । आशिषले गोल पनि गरे । यो नेपाली फुटबलका लागि धेरै महत्वपूर्ण छ । खेलमा कसैले गोल गर्नुपर्ने थियो । आज यो काम आशिषले गरे ।  

गोल गर्ने सपना पूरा भयो
आशिष चौधरी, स्ट्राइकर, नेपाल 

सानैदेखि नेपालका लागि गोल गर्ने सपना थियो । पाकिस्तानसँगको खेलमा त्यो सपना पूरा भएको छ । म मेरो परिवारलाई सहयोग गर्नेहरूलाई सम्झन चाहन्छु । अहिले एउटा सपना पूरा भएको छ । तर, म यतिमै खुसी हुनुहुँदैन । अझै देशका लागि धेरै गर्न बाँकी छ । देशका लागि अझै खेल्न बाँकी छ । म विदेश नै जानु थियो भने किन खेल्थेँ ? अहिले बल्ल म मेरो मिहिनेतको फल पाउँदै छु । परिवारबाट विदेश जान दबाब आएको थियो । तर, मैले कुनै पनि हालतमा मानिनँ । अहिले परिवारले विदेश जानुपर्दैन भनिरहेका छन् । 

सुझावित समाचार