स्पेनिस क्लब रियल म्याड्रिडले क्रोएसियाका स्टार खेलाडी लुका मोड्रिकसँग एक वर्षको सम्झौता नवीकरण गरेको छ । म्याड्रिडका सिनियर खेलाडी अन्य क्लबमा अनुबन्धित भइरहँदा मोड्रिकले स्पेनमै बस्ने निर्णय गरेका हुन् । मोड्रिक र म्याड्रिडबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । यसै महिनामा मोड्रिडको सम्झौता समाप्त भएको थियो । बेलायती मिडियाले मोड्रिड साउदी अरेबियाको प्रो लिगमा जान सक्ने सम्भावना रहेको बताएपछि म्याड्रिडले उनीसँग तत्कालै सम्झौता नवीकरण गरेको हो ।
३७ वर्षीय मोड्रिकले म्याड्रिडबाट चार सय ८८ खेल खेलेका छन् । सन् २०१२ मा उनी इंग्लिस क्लब टोटनह्यामबाट म्याड्रिड आएका थिए । म्याड्रिडमा रहँदा उनले तीनपटक स्पेनिस ला लिगा उपाधि जिते । यसैगरी, उनले पाँचपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जिते । यसैगरी, सन् २०१८ मा उनले फिफाले प्रदान गर्ने बालोन डिअर उपाधि जितेका थिए । सोही वर्ष क्रोएसिया पहिलोपटक विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
रसियामा भएको विश्वकपमा मोड्रिककै उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विश्वकप फाइनल पुगेको थियो । विश्व च्याम्पियनसिप उपाधि भिडन्तमा क्रोएसिया फ्रान्ससँग पराजित भयो । म्याड्रिडसँग सम्झौता गरेपछि मोड्रिकले भनेका छन्, ‘मेरो प्यारो घरमा फेरि बस्ने निर्णय गरेको छु ।’ यसअघि, म्याड्रिडले टोनी क्रुज, डानी सेबालोस तथा चानो फर्नान्डेजको सम्झौता पनि नवीकरण गरेको थियो । १४ पटकको युरोपियन च्याम्पियन म्याड्रिडले राम्रा खेलाडीलाई क्लबमै राख्दा ठूलो रकम खर्चेको एजेन्सीले जनाएको छ । यसै सिजनमा म्याड्रिडले बोरुसिया डर्टमुन्डबाट जुडे बेलिघामलाई भिœयाएको थियो ।