जुम्लाका आठ स्थानीय तहले ल्याए साढे तीन अर्बकाे बजेट

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले कुल तीन अर्ब ३८ करोड १९ लाखकाे बजेट ल्याएका छन्। चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ५५ करोड १० लाख ८० हजारकाे बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। 

चन्दननाथकाे नीति तथा कार्यक्रममा भौतिक विकास, व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, बायो इन्जिनियरिङ, फोहोरमैला व्यवस्थापन र खानेपानी तथा सरसफाइ प्राथमिकतामा परेकाे छन्। 

यस्तै, महिला तथा बालबालिका, स्वास्थ्य शिक्षा युवा तथा खेलकुद, कृषि, संस्कृति तथा पर्यटन र सूचना सञ्चार प्रविधि नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति बनाई विस्तृत एवं एकीकृत कार्ययोजना बनाएर लागू गरिने नगरप्रमुख राजुसिंह कठायतले बताए।

हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार रुपैयाँ बजेट ल्याएकाे अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए। यस्तै, तिला गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार नाै सय ९३ रुपैयाँको संक्षेपमा प्रस्तावित बजेट ल्याएको छ। 

गाउँ सभाको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गोरीकला बुढाले आर्थिक वर्ष ०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार नाै सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।  

नीति तथा कार्यक्रममा कृषि पशु विकास, लघु उद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत्, सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश छन्। 

गुठीचौर गाउँपालिकाले ३२ करोड ५८ लाख २५ हजार सात सय रुपैयाँको बजेट ल्याएको उपप्रमुख शान्तिकुमारी मल्ल भण्डारीले बताइन्। 

‘शिक्षामा लगानी गरौँ, पढाऊँ लेखाऊँ बालबालिका र सामूहिक संकल्प गरौँ, बनाऊँ सुरक्षित गाउँपालिका’ भन्ने मूल नारासहित आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याएको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए।

अध्यक्ष बुढाले भने १०औँ गाउँ सभाबाट मदिरा नियन्त्रण कार्यविधि, आर्थिक ऐन, निर्माण जन्य ढुंगा, गिटी, बालुवा उत्खनन तथा प्रशोधन र बिक्री–वितरणसम्बन्धी कार्यविधि र वडा विभाजनसम्बन्धी निर्णय पनि पारित भएको हो। वडा नम्बर ४ र ५ वडालाई विभाजन गर्ने निर्णय पारित भएको हो। 

कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार रुपैयाँ बजेट ल्याएकाे प्रधानमन्त्री रोजगार संयोजक हंशराज न्यौपानेले बताए। 

उनले भने, ‘गाउँपालिकाले कोटघरमा बेलिब्रिज पुल निर्माण र नाग्म–गमगढी सडकअन्तर्गत हाडसिँजा सडकखण्डदेखि कनकासुन्दरी मन्दिर जाने झोलुङेपुल निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।’

सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार तीन सय रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शितली रोकायाले बताइन्। 

पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार रुपैयाँ काे बजेट ल्याएकाे उपप्रमुख जनमाया रोकायाले जानकारी दिइन्। यस्तै, तातोपानी गाउँपालिकाले ४९ करोड २७ लाख ३१ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख रेवती रावलले बताइन्। 

सुझावित समाचार