काभा पुरुष भलिबल : नेपाल लगातार छैटौँ खेलमा पराजित

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल जितविहीन बनेको छ । किर्गिस्तानमा भएको प्रतियोगितामा ६ खेलमै पराजित हुँदा नेपालले एक खेल पनि जित्न सकेन । प्रशिक्षक जगदीश भट्टको प्रशिक्षणमा नेपाली टोली १६ जुनमा किर्गिस्तान पुगेको हो । नेपाली टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा उत्रँदा सबै खेलमा पराजित भयो । नेपालले सन् २०२१ मा बंगलादेशमा भएको एसिसी सेन्ट्रल जोनमा पछिल्लो प्रतियोगिता खेलेको थियो । 

बिस्केकस्थित स्पोर्टस् एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । अन्तिम खेलमा नेपाल २५–२१, २५–२२ र २५–२३ ले पराजित भएको हो । पहिलो सेटमा खराब प्रदर्शन गरे पनि नेपालले दोस्रो र तेस्रो सेटमा सम्हालिएर खेलेको थियो । तर, ब्लक र डिफेन्समा चुक्दा लगातार छैटौँ हार बेहोर्न पुग्यो । 

हरिहजुर थापाको कप्तानीमा मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, भीम गाहा, हरि अधिकारी, टेकराज अवस्थीले नेपालको प्रतिनिधित्व गरेका थिए । कप्तान हरिहजुरले ब्लक र डिफेन्समा गल्ती गर्दा लगातार हार बेहोरेको नयाँ पत्रिकालाई बताए । ‘हामी ब्लक र डिफेन्समा चुक्यौँ,’ हरिहजुरले भने । ‘प्रतियोगितामा हामीले स्तरीय टोलीसँग प्रतिस्पर्धा ग¥यौँ । जहाँ हामीले राम्र्रो चुनौती दिँदादिँदै पनि हार्न पुग्यौँ,’ उनले थपे । 

चार खेलाडीको डेब्यु
प्रशिक्षक भट्टले राष्ट्रिय टोलीमा चार खेलाडीलाई ‘डेब्यु’ गरेका छन् । मिडब्लकर सफल विश्वकर्मा, स्पाइकर हेमन्तबहादुर मल्ल, लिबेरो भीम गाहामगर र सेटर लोकेन्द्र गिरीले पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । सेन्ट्रल जोनपछि रोबिन चन्दले पुनरागमन गरे । नेपाल पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा हारेको थियो । दोस्रो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग ३–१ र तेस्रो खेलमा इरानसँग ३–० ले पराजित भयो । चौथो खेलमा तुर्किमिनिस्तानसँग ३–१ ले हारेको नेपाल पाँचौँे खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग ३–२ को सेटमा पराजित भएको थियो । 

सुझावित समाचार