त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को नयाँ आगमन कक्षमा १० जना अट्ने लिफ्ट जडान भइरहेको छ । आइएमएस समूहले जडान गरिरहेको लिफ्ट दुई महिनाभित्र सञ्चालनमा आउने विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नयाँ आगमन कक्ष आइएमएस समूहले ३० वर्षसम्म सञ्चालन गर्ने गरी निर्माण गरेको हो ।
आगमन कक्षमा तीनवटा लिफ्ट, एउटा ट्राभलेटर, एउटा एस्केलेटर र एउटा आकस्मिक प्रयोगका लागि भ¥याङ छ । तर, साँघुरा लिफ्ट र डिजाइन नमिलेको विद्युतीय भर्याङ (ट्राभलेटर)का कारण यात्रुहरूले निकै सास्ती पाएको भन्दै चौतर्फी आलोचना भएपछि ठूलो क्षमताको लिफ्ट जडानका लागि आइएमएस एयरपोर्ट सर्भिसेज कम्पनीलाई निर्देशन दिइएको थियो ।
०७९ माघमा अभिनेत्री उषा रजकले ट्राभलेटरबाट ट्रली गुडाउँदै झर्दा छोरीसँग लडेर घाइते भएको भन्दै सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेकी थिइन् । उनको भिडियो सार्वजनिक हुनेबित्तिकै चौतर्फी आलोचना भएको थियो । पर्यटनमन्त्री सुदन किराँती आफैँ विमानस्थल अनुगमन गर्न गई आगमन कक्षको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
विमानस्थलमा एकैपटक दुईवटा अन्तर्राष्ट्रिय जहाजका यात्रु आउँदा चार–चारजना मात्र अटाउने लिफ्टले धान्न सक्दैन ।यात्रुले ट्रली गुडाउँदै झर्दा ट्राभलेटरमा अड्किएर लड्ने र लगेज खस्नेजस्ता समस्या भोग्दै आइरहेका छन् । तर, पछिल्ला महिनामा भने ठूला लगेज बोकेका ट्रली ट्राभलेटरबाट झार्न रोकिएको छ ।
आइएमएसले दुई महिनाभित्र लिफ्ट जडान सम्पन्न गरिसक्ने जानकारी गराएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले पछिल्लो तीन महिनामा विमानस्थलमा भएका र हुँदै गरेका २० वटा प्रगति विवरण सार्वजनिक गरेको छ ।
विमानस्थल कार्यालयका अनुसार टर्मिनलबाहिर अध्यागमन क्षेत्र र प्रस्थान क्षेत्रमा यात्रुको सहजीकरणका लागि हेल्प डेस्क स्थापना गर्नुका साथै ‘मे आई हेल्प यू ?’ लेखिएको ज्याकेट लगाएका जनशक्ति परिचालन गरी यात्रुलाई आवश्यक सूचना तथा सहयोग गर्ने सुविधा उपलब्ध गराइएको छ । यस्तै, नेपाल वायुसेवा निगमले गर्ने ब्यागेज ह्यान्डलिङका सिलसिलामा ब्यागेज तोडफोड तथा चोरीका गुनासाहरू सम्बोधन गर्न नियमित अनुगमनका साथै सुपरभाइजर र गोप्रो क्यामराको व्यवस्था गरिनुका साथै कर्मचारीलाई पकेट नभएको ड्रेस लगाएर कममा खटाउने व्यवस्था गरिएको छ ।
वृद्ध, अशक्त, गर्भवती र बच्चाका लागि अलग्गै प्रायोरिटी चेक–इन लाइन र बस्नका लागि डेडिकेटेड कुर्सीको व्यवस्था मिलाइएको महाप्रबन्धक तिवारीले बताए । यस्तै, महिला शौचालयमा स्यानिटरी प्याडका लागि अटोमेटिक टेलर मेसिन राखेको प्रगति विवरणमा उल्लेख छ ।
फ्लाइट इन्फर्मेसन डिस्प्लेमा एयरलाइन्स चेक–इन काउन्टर नै खुलाउने व्यवस्था मिलाइनुका साथै बोर्डिङ पासमा बोर्डिङ गेट नम्बर उल्लेख हुने व्यवस्था गरिएको छ । विमानस्थलमा चेक–इनका लागि स्वचालित प्रणालीको व्यवस्था गरी चेक–इनलाई छिटो–छरितो र प्रभावकारी बनाउन छुट्टै लाइन राखेर यात्रु आफैँले आफ्नो पासपोर्ट स्क्यान गरेर ब्यागेज ट्याग र बोर्डिङ पास लिन सक्ने ‘सेल्फ चेक–इन किओस्क’ मेसिन प्रयोगमा ल्याइएको छ ।
‘सुरुमा मलेसियन एयरलाइन्सले यो प्रणाली लागू गरेको र यात्रुले तोकिएको तौलको सीमाभित्र रहेर आफैँ ब्यागेज ड्रप गर्न सक्ने सेल्फ ब्यागेज ड्रप (एसबिडी)को व्यवस्थापछि अन्य वायुसेवाहरूलाई पनि आफ्नो सफ्टवेयर जडान गरी शीघ्र व्यवस्था मिलाउन जोड दिइएको छ,’ २० बुँदे प्रगति विवरणको नौ नम्बर बुँदामा उल्लेख छ ।
वाइफाई कनेक्सन लगइन सहज बनाउँदै लगेको र फिल्डमै सम्बन्धित प्राविधिकलाई खटाई समस्याको तत्काल निरूपण गर्ने व्यवस्था मिलाएको दाबी गरिएको छ । विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि बाहिर रिङरोडसम्म र अन्तर्राष्ट्रिय आगमन कक्षबाट आएका यात्रुलाई आन्तरिक टर्मिनलसम्म पुर्याउन हायस गाडीबाट निःशुल्क उपलब्ध गराउँदै आएको सेवालाई अपग्रेड गरी इलेक्ट्रिक सटल बसबाट सेवा सुरुवात गरिएको छ ।
०८० असार मसान्तसम्म पाँच सय थान नयाँ ट्रली आइपुग्ने र पुरानो ट्रली मर्मतका लागि स्पेयर पार्टस् आइपुग्ने बताइएको छ । यसले अहिले देखापरेको ट्रली अभावको समस्या पूर्ण रूपमा समाधान हुने विमानस्थलको अपेक्षा छ । उडान सुरक्षालाई प्रभावकारी बनाउन एयरसाइड सर्भिलेन्स बढाइएको छ भने विमानस्थलमा चरा तथा वन्यजन्तुबाट हुने खतरा पहिचान गरी सुधार गर्दै लगेको दाबी गरिएको छ । विमानस्थलबाट हुने भिआइपीहरूको आवागमनलाई सुव्यवस्थित बनाउन आवश्यक भएकाले यसका लागि कार्यविधि तयार गरी स्वीकृतिका क्रममा रहेको बताइएको छ ।