लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष ०८०/८१ का लागि ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकोछ। आइतबार भएको गाउँपालिकाको १५औँ गाउँसभामा उपाध्यक्ष जुनामाया थापाले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटको स्रोत संघीय सरकारको वित्तीय समानीकरण अनुदान ८ करोड ३६ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ७५ हजार, संघ सरकारको राजस्व बाँडफाँटअन्तर्गत ९ करोड ९९ लाख २९ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ८७ लाख ७५ हजार, आन्तरिक राजस्वतर्फ १ करोड, संघीय सरकारको सशर्त अनुदानबाट २४ करोड ८९ लाख, संघ सरकारको विशेष अनुदानतर्फ ८० लाख, संघ सरकारको समपूरक अनुदानतर्फ ५० लाख, प्रदेश सरकारको विशेष अनुदानतर्फ ६० लाख र प्रदेश समपूरक अनुदान ५० लाख रहेको छ।
यसैगरी, जलविद्युत् रोयल्टीबापत ३ करोड २९ लाख, पर्वतारोहणबापत प्राप्त रोयल्टी ३ लाख, वन पैदावर रोयल्टी १ लाख २० हजार ३ सय, गरिबसँग विश्वेश्वर कार्यक्रमतर्फ ४ लाख ६५ हजार, प्रदेश तथा स्थानीय क्षमता विकास कार्यक्रमतर्फ ३ लाख ८० हजार ९४२ र अघिल्लो अनुमानित नगद मौज्दात ५९ लाख रहेको छ।
प्रस्तुत बजेटमा चालू खर्च ७ करोड ४१ लाख र पुँजीगत खर्च १८ करोड १० लाख रूपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले जानकारी दिए।
बजेटमा कृषि, पशुपंक्षी तथा जडिबुटी क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्वि र बजारीकरण गर्न २ करोड २५ लाख, जडिबुटी विकास तथा प्रशोधनका लागि ५० लाख, सीप तथा क्षमता विकास तालिमका लागि २० लाख विनियोजन गरिएको छ।
त्यसैगरी, शिक्षाको विकासका लागि २ करोड, विपन्न, दलित, आदिवासी जनजाति बालबालिकाको प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न ५ लाख बजेट विनियोजन गरिएको छ।
स्वास्थ्यतर्फ १ करोड, एकल पुरूष सामाजिक सुरक्षा भत्ताका लागि १० लाख, सडक मर्मतसम्भारका लागि ३० लाख, ग वर्गका अपांगता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ताका लागि १० लाख विनियोजन गरिएको छ।
नयाँ सडक निर्माण तथा स्तरोन्नतिका लागि आफ्नै एक्साभेटर खरिद गर्न १ करोड २० लाख छुट्याइएको छ। वडागत विशेष योजनाहरूलाई सम्बाेधन गर्न ९० लाख र साना योजनाका लागि ५० लाख विनियोजन गरिएको छ । ग्रामीण तालिम केन्द्रको जग्गा खरिदका लागि २० लाख, सहिद तथा बेपत्ता स्मृति अध्ययन केन्द्रमा पुस्तकालय स्थापनाका लागि ३ लाख बजेट विनियोजन गरिएको छ।
वडाबाट छानिएका गाउँवस्तीका योजनामा ६ करोड, संघ तथा प्रदेश सरकारको साझेदारीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषि उत्पादन, बजारीकरण र युवा रोजगारका लागि क्षमता विकासका लागि बजेटले जोड दिएको बताए। नयाँ एक्साभेटर खरिदपछि पालिकाका सबै सडक बाह्रै महिना सुचारु गर्न, नयाँ खन्न र स्तरवृद्वि गर्न सहज हुने उनको भनाइ छ।
गाउँसभाले गाउँपालिकाको आर्थिक विधेयक–२०८० र गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक–२०८० पारित गरेको प्रशासन प्रमुख अर्जुन चपाईँले जानकारी दिए।