देउवा सिंगापुरबाट फर्केपछि प्रचण्ड र नेपालसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमण र चार दलको समाजवादी मोर्चा गठनपछि राजनीतिक वृत्तमा अनेकौँ आशंका चलिरहेका वेला सत्तागठबन्धनका नेताहरूले बजेट पास हुने र सरकार हेरफेरको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
कांग्रेस सभापति देउवा सिंगापुरबाट फर्केपछि शनिबार बसेको सत्तारूढ गठबन्धनका तीन दलका शीर्ष नेताबीच बजेटसहित समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक अवस्था र बजेटका विषयमा छलफल भएको हो ।
सरकार परिवर्तनको हल्ला चलिरहेका वेला शीर्ष नेताहरूबीच छलफल भएको हो । शुक्रबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति देउवालाई प्रयोग गरेर सरकार ढाल्न लागिपरेको बताएका थिए । ‘एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरूले सुनिरहनुभएको छ । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन् । ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्,’ उनले भनेका थिए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । गठबन्धन ठीक ढंगले नचले फेर्ने कुरा नौलो नभएको उनको दाबी थियो । ‘गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ’ थापाको भनाइ थियो ।
बालुवाटार बैंठकपछि नेपालले सरकार परिवर्तन नहुने दाबी गरे । उनले वर्तमान सत्तागठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरे । नयाँ पत्रिकासँग कुरा गर्दै नेपालले भने, ‘सरकार परिवर्तनको विषयमा कसैले सोचेको छ भने, त्यो मनको लड्डु घिउसँग खाएजस्तै हो । त्यो सम्भावना छैन । यो गठबन्धन पाँचै वर्ष टिक्छ ।’ शीर्ष नेताहरूबीच बजेटसहित समसामयिक विषयमा छलफल भएको उनले जानकारी दिए । कांग्रेस प्रचार विभाग प्रमख मीन विश्वकर्माले बजार हल्लाको पछाडि दौडन नहुने बताए । उनले भने, ‘बाहिर आएका विषय अनुमान मात्रै हो । सरकार बदल्ने कुरामा कांग्रेस लागेको छैन ।’
देउवाको सिंगापुर भ्रमणपछि सरकार परिवर्तनको चर्चा भयो नि भन्ने प्रश्नमा उनले भने, ‘सरकार सिंगापुरबाट बन्ने होइन । हामी अहिले सरकार परिवर्तनको पक्षमा छैनौँ । बजेट पारित गरेर अगाडि बढ्छौँ ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं माओवादी उपमहासचिव हरिबोल गजुरेलले सरकारलाई कमजोर बनाउन चाहनेले हल्ला फैलाएको दाबी गरे । ‘अस्थिरतामा रमाउने र निजी स्वार्थपुर्ति गर्न खोज्नेहरूले भ्रमको खेती गर्न खोजेका छन् । यो सरकारलाई कमजोर बनाउने खेल मात्रै हो ।’ उनले भने, ‘अहिले सरकार परिवर्तन केका लागि ? परिवर्तन भइहाल्यो भने पनि फेरि कति दिन टिक्छ ? एजेन्डा के ? त्यो अहिले सम्भव छैन ।’ विपक्षी दलहरूबाट सरकारलाई कमजोर बनाउन अनेक हल्ला फैलाएको उनले दाबी गरे ।
असन्तुष्टि सम्बोधन गर्दै बजेट पारित गर्ने सहमति
प्रचण्ड, देउवा र नेपालबीच बजेटका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन शीर्ष नेताबीच बजेटमाथिका असन्तुष्टि सम्बोधन गरेर पारित गर्ने सहमति भएको हो । विनियोजन विधेयकमाथि उठेका प्रश्नको आइतबारबाट सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बजेट बनाउने तरिका, सिद्धान्तअनुकूल छैन । कुन कार्यक्रम कहाँ आवश्यक छ, त्यसको पहिचान भएन । बजेटमाथि कोही पनि सन्तुष्ट भएनन् ।’ बालुवाटारको छलफलपछि नेपालले नयाँ पत्रिकासँग भने, ‘बजेट कनिका छरेजस्तो पनि गर्नु भएन । बजेटलाई मिलाएर जानुपर्छ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नीतिगत विषय सम्बोधन गरेर बजेट पारित हुने बताए । प्रधानमन्त्री प्रचण्डको दल आबद्ध समाजवादी मोर्चाबाटै बजेटमाथि विरोध भएको उल्लेख गर्दै विश्वकर्माले कांग्रेस बजेट पारित गरेर जाने पक्षमा रहेको बताए । ‘बजेट पारित हुन्छ । हामी बजेट पारित गरेर जान्छौँ । करबाहेकका नीतिगत विषयमा परिमार्जन हुन सक्छ । त्यो काम बजेट पारित भएपछि पनि हुन सक्छ ।’ उनले भने ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं माओवादी उपमहासचिव हरिबोल गजुरेलले मिलाउन सकिने विषय मिलाएर जाने सहमति रहेको बताए । ‘बजेटमा नमिलेका विषय मिलाएर जाने भन्ने छ । बजेट पारित हुनुअघि र पारित भइसकेपछि पनि नीतिगत विषय सम्बोधन गर्न सकिन्छ ।’ उनले भने ।