मार्सल आइल्यान्ड्स र क्यामरुनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

कूटनीतिक सम्बन्ध स्थापनाको २०५ वर्षमा नेपालको १८१ मुलुकसँग सम्बन्ध, हालसम्म ३३ मुलुकमा राजदूतावास स्थापना 

नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८१ पुगेको छ । नेपालले शुक्रबार र बिहीबार क्रमशः प्यासिफिक क्षेत्रको मार्सल आइल्यान्ड्स र पश्चिम अफ्रिकी मुलुक क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी हस्ताक्षर गरेको छ । 

नेपालले यस वर्ष (सन् २०२३)मा चार मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । मार्सल आइल्यान्ड्स र क्यामरुनभन्दा अगाडि नेपालले १६ फेब्रुअरीमा मलाबी तथा ४ मेमा नउरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । 

न्युयोर्कमा आयोजित समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र मार्सल आइल्यान्ड्सका स्थायी प्रतिनिधि अमाटलेन एलिजाबेथ काबुआ तथा क्यामरुनका स्थायी प्रतिनिधि माइकल टेमो मोन्थेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी बेग्लाबेग्लै संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । तीनै मुलुकले संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसलाई पनि कूटनीतिक सम्बन्ध स्थापनाबारे लिखित जानकारी दिएका छन् । 

नेपाल र बेलायतबीच सुगौली सन्धिको दुई वर्षपछिदेखि सन् १९१८ मा औपचारिक कूटनीतिक सम्बन्ध रहँदै आएको मानिएको छ । यसका आधारमा नेपालले कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय पाँच वर्षयता एक सय ८१ मुलुकसँग कूटनीतिक सम्बन्ध जोडेको हो । हालसम्म नेपालले ३३ मुलुकमा राजदूतावास स्थापना गरेको छ । 

मार्सल आइल्यान्ड्स अस्ट्रेलिया र हवाईबीच रहेको मध्य प्यासिफिक क्षेत्रमा पर्छ । ६० हजार जनसंख्या रहेको आइल्यान्ड्सको क्षेत्रफल १८१.३ वर्गकिलोमिटर रहेको छ । न्युयोर्कस्थित स्थायी नियोगका अनुसार सन् १९८६ अक्टोबरमा उक्त देश अमेरिका प्रशासित ट्रस्टिसिपबाट स्वतन्त्र भएको थियो । यसले १९९१ सेप्टेम्बर १७ मा राष्ट्रसंघको सदस्यता पाएको थियो । 

क्यामरुन दुई सय ४० जनजाति र दुई सय ३० भाषाभाषी भएको मुलुक हो । चाड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, गाबोन, इक्वेटोरियल गिनी, नाइजेरिका तथा एटलान्टिक महासागरसँग यसको सीमा जोडिएको छ । यो १९६० सेप्टेम्बर २० मा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो ।

नेपालले १९५५ डिसेम्बर १५ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो । नेपाल ७५औँ सदस्य हो । त्यसअघि नेपालले बेलायत, अमेरिका, भारत, फ्रान्स र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको थियो । 

००७ सम्म बेलायत, अमेरिका, भारत र फ्रान्समा नेपाली दूतावास थिए । ०६३ सम्म २४ दूतावास स्थापना भए भने हाल ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । संयुक्त राष्ट्रसंघमा नेपाल दुईपटक सुरक्षा परिषद्को अस्थायी सदस्य भइसकेको छ भने सन् २०३७ देखि २०३८ को कार्यका लागि उम्मेदवारी घोषणा गरिसकेको छ । 

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने दोस्रो ठूलो मुलुक नेपाल हो । सेनाका अनुसार हाल ६ हजार ७३ जना नेपाली सुरक्षाकर्मी राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । 

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य निर्वाचित भएको छ । आगामी वर्ष (२०२४)देखि दुई वर्षका लागि अघिल्लो साता नेपाल निर्वाचित भएको हो । नेपालले एक सय ४५ भोट पाएको थियो । 

सात कूटनीतिक नियोग नेतृत्वविहीन हुँदै 
विदेशस्थित नेपालका ६ राजदूतावास र एक संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन हुँदै छन् । न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राई बिदाइ भेटमा छन् । युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल स्वदेश फर्किसकेका छन् । क्यानडाका लागि राजदूत भृगु ढुंगाना, कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी र थाइल्यान्डका लागि राजदूत गणेशप्रसाद ढकाल, जेनेभास्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणि भट्टराई, फ्रान्सका लागि राजदूत दीपक अधिकारी स्वदेश फर्किने क्रममा छन् । परराष्ट्रमन्त्री एनपी साउदले दुई साताअघि नै राजदूत नियुक्ति सिफारिस हुनै लागेको बताए पनि हालसम्म भएको छैन । 

‘राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका’अनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्नेछ । तर, सरकारले नयाँ राजदूत नियुक्ति प्रक्रिया सुरु गरेको छैन । चारवर्षे कार्यकाल पूरा गर्न लागेका सातै राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) हुन् । 

परराष्ट्र सेवाका राजदूतहरू नियुक्त हुन लागेका कारण परराष्ट्रकै वरिष्ठ अधिकारीहरूले दाबी गरेका छन् । परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, लोकबहादुर थापा, घनश्याम लम्साल, प्रकाशमणि पौडेल दाबेदार छन् । तीनजना सहसचिवलाई दिल्ली र बेइजिङस्थित नेपाली दूतावास तथा न्युयोर्कस्थित स्थायी नियोगमा उपनियोग प्रमुखका रूपमा पठाउने तयारी छ । स्रोतका अनुसार दिल्लीका लागि सहसचिव रिता धिताल, चीनका लागि सुरेन्द्रकुमार यादव र न्युयोर्कका लागि कौशलकिशोर रायलाई पठाउने तयारी छ । 

परराष्ट्र मन्त्रालयका अनुसार ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । विदेशमा परराष्ट्रका एक सय ३२ कर्मचारीका लागि दरबन्दी छ । सहसचिव चार, उपसचिव २८, शाखा अधिकृत ४८ र नासु ५३ जनाको दरबन्दी छ । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सात प्रदेशमा जम्मा १० जना अधिकृत गरी परराष्ट्रमातहत जम्मा एक सय ५८ दरबन्दी छ । नेपालका सबै महादेश, सबै शक्तिराष्ट्र, विकास साझेदार मुलुक, श्रम गन्तव्य मुलुकमा दूतावास छ । दक्षिण एसियामा अफगानिस्तान, भुटान र माल्दिभ्समा नेपालको राजदूतावास छैन ।

न्युयोर्कमा धेरैको चासो
स्थायी प्रतिनिधि अमृतबहादुर राईको कार्यकाल सकिँदै गर्दा न्युयोर्कस्थित स्थायी प्रतिनिधि को आउने भन्ने चासो छ । न्युयोर्क सबैभन्दा बढी व्यस्त मिसन भएका कारण यहाँ नियुक्त हुने स्थायी प्रतिनिधिको छनोटलाई महत्वसाथ हेरिने गरिएको छ । अमृत राईअघि परराष्ट्रसचिव भएका मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, दुर्गाप्रसाद भट्टराईले स्थायी प्रतिनिधि भएर काम गरेका थिए । चार वर्षअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सहसचिव राईलाई पठाएको थियो । न्युयोर्कमा कूटनीतिक सेवाबाहिरबाट विगतमा पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, ऋषिकेश शाह, पदमबहादुर खत्री, डा. जयराज आचार्य पनि स्थायी प्रतिनिधि भएका थिए ।

See More On

सुझावित समाचार