आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा कायम रहन जित्नै पर्ने महत्वपूर्ण म्याचमा नेपाल एक सय ६७ रनमा अलआउट भएको छ।
जिम्बावेको हरारे खेलमैदानमा टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्न उत्रिएको थियो। तर, नेदरल्यान्ड्सको बलिङसामु कुनै पनि नेपाली ब्याटर टिक्न सकेनन्। र, ४४.३ ओभरमा अलआउट हुन पुगे।
कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। सन्दीप लामिछानेले ३३ बलमा महत्वपूर्ण २७ रन बनाउँदा ४२ बलमा कुशल भुर्तेलले पनि २७ रन नै जोडे। भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ सेखले ६, करण केसीले एक रन बनाउँदा आसिफ सेख शून्य रनमा आउट भए।
अधिकांश ब्याटर सर्ट बलको सिकार बने। एक बल खेलेर कुनै रन नबनाएका ललित राजवंशी अवितिज रहे।नेदरल्यान्ड्सका बलरले सुरुदेखि नै कसिलो बलिङ गरेपछि दबाबमा आएको नेपालले लगातार अन्तरालमा विकेट गुमाएको हो।
नेपालले पहिलो विकेट सात रनको अवस्थामा गुमाएको थियो। ओपनर आसिफ सेख भान बिकको बलमा इन्साइड एज लागेर बोल्ड हुन पुगेपछि विकेट खस्ने क्रम सुरु भएको थियो। त्यसपछि नेपालले १४.५ ओभरमा ४६ रनको अवस्थामा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। विक्रमजित सिंहको बलमा कुशल क्याचआउट भएका थिए।
लगत्तै, विक्रमजितले आफ्नो अर्को ओभरमा आरिफ सेखलाई सिकार बनाए। जम्मा चार बल खेलेका आरिफ ६ रन बनाएर आउट भए। उनी आउट भएपछि कप्तान रोहितकुमार पौडेल क्रिजमा आए। नेपालले १८.१ ओभरमा चौथो विकेटको रूपमा भीम सार्कीलाई गुमायो। ५६ बल खेलिसकेका भीम अनावश्यक रूपमा २२ रनको अवस्थामा आउट भए।
नेदरल्यान्ड्सले सिमरको स्थानमा स्पिनरलाई ल्याउनेबित्तिकै पहिलो बलमै ठूलो सट प्रहार गर्न खोज्दा भीम क्याच आउट भएका थिए। जब कि क्रिजको अर्को इन्डमा रहेका कप्तान रोहितले केहीबेर धैर्य खेल्न सुझाब दिएको अडियोमा स्पष्ट सुनिएको थियो।
भीम आउट भएपछि धर्मराएको ब्याटिङ लाइनअप सम्हाल्न कुशल मल्ल क्रिजमा आए। तर, उनले पनि विकेट जोगाएर खेल्नभन्दा आउनेबित्तिकै ठूलो सट प्रहार गर्न कोसिस गरे। यही क्रममा उनी निदामानुरुको बलमा क्याच क्याच आउट भए। १९ बल खेलेर १२ बनाई कुशल मल्ल आउट हुँदा नेपालको स्कोर २५.२ ओभरमा ९१ थियो।
५० ओभरको खेलको आधा बाटो तय गर्दा नेपालले पाँच विकेट गुमाइसकेको थियो। तर, धैर्य गुमाउँदा कप्तान रोहित पनि ३१.५ ओभरमा आउट भए। ५५ बल खेलेर एक छक्का तीन चौका प्रहार गरेका रोहित आउट हुँदा नेपालको स्कोर जम्मा एक सय १६ थियो।
सात रन थप्दा नेपालले सातौँ विकेट पनि गुमायो। २१ बलमा १४ रन बनाएका दीपेन्द्रसिंह ऐरी भान बिकको सिकार बने। सर्ट बलमा अनावश्यक छेडखानी गर्दा उनी विकेट गुमाउन पुगे। दीपेन्द्र आउट भएपछि सन्दीप क्रिजमा आएका थिए। सन्दीप र गुल्सनले ३२ रनको साझेदारी गरे। यी दुईबीच खेललाई ५० ओभरको आसपास पुर्याउने दायित्व थियो। तर, डी लिडको सट बलमा गुल्सनले विकेट गुमाए। त्यसअघि करण केसी पनि त्यस्तै बलमा आउट भएका थिए।
गुल्सन आउट भएपछि अन्तिम विकेटका रुपमा ललित क्रिजमा आए। ललित आएपछि सन्दीपले स्टइक आफूसँग राख्दै रन बनाउने प्रयास गरे। यसबीच उनले दुई चौका प्रहार गरे।
त्यसपछि एक रन लिएर अर्को ओभरमा पुनः स्टाइकमा पुगेका सन्दीपले लगातार दुई बल डट खेले। भान बिकको तेस्रो बलमा छक्का प्रहार गर्ने क्रममा बाउन्ड्री लाइनमा डी लिडको हातमा समातिए। उनले केही राम्रा सट प्रहार गर्दै ३३ बलमा २७ रन बनाए। उनले चार चौका प्रहार गरे।