आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा कायम रहन जित्नै पर्ने म्याचमा नेपालका कुनै पनि ब्याटर चल्न सकेनन्।
नेदरल्यान्ड्सका बलरले सुरुदेखि नै कसिलो बलिङ गरेपछि दबाबमा आएको नेपालले लगातार अन्तरालमा विकेट गुमाएको छ। नेपाली ब्याटरले अनावश्यक सट सेलेक्सन गर्दा सहजै विकेट गुमाएका हुन्।
नेपालले पहिलो विकेट सात रनको अवस्थामा गुमाएको थियो। ओपनर आसिफ सेख भान बिकको बलमा इन्साइड एज लागेर बोल्ड हुन पुगेपछि विकेट खस्ने क्रम सुरु भएको थियो।
त्यसपछि नेपालले १४.५ ओभरमा ४६ रनको अवस्थामा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। विक्रमजित सिंहको बलमा कुशल क्याचआउट भएका थिए। लगत्तै, विक्रमजितले आफ्नो अर्को ओभरमा आरिफ सेखलाई सिकार बनाए। जम्मा चार बल खेलेका आरिफ ६ रन बनाएर आउट भए। उनी आउट भएपछि कप्तान रोहितकुमार पौडेल क्रिजमा आए।
नेपालले १८.१ ओभरमा चौथो विकेटको रूपमा भीम सार्कीलाई गुमायो। ५६ बल खेलिसकेका भीम अनावश्यक रूपमा २२ रनको अवस्थामा आउट भए।
नेदरल्यान्ड्सले सिमरको स्थानमा स्पिनरलाई ल्याउनेबित्तिकै पहिलो बलमै ठूलो सट प्रहार गर्न खोज्दा भीम क्याचआउट भएका थिए। जब कि क्रिजको अर्को इन्डमा रहेका कप्तान रोहितले केहीबेर धैर्य राखेर खेल्न सुझाब दिएको अडियोमा स्पष्ट सुनिएको थियो।
भीम आउट भएपछि धर्मराएको ब्याटिङ लाइनअप सम्हाल्न कुशल मल्ल क्रिजमा आए। तर, उनले पनि विकेट जोगाएर खेल्नभन्दा आउनेबित्तिकै ठूलो सट प्रहार गर्न कोसिस गरे। यही क्रममा उनी निदामानुरूको बलमा क्याचआउट भए। १९ बल खेलेर १२ बनाई कुशल मल्ल आउट हुँदा नेपालको स्कोर २५.२ ओभरमा ९१ थियो।
५० ओभरको खेलको आधा बाटो तय गर्दा नेपालले पाँच विकेट गुमाइसकेको थियो। तर, धैर्य गुमाउँदा कप्तान रोहित पनि ३१.५ ओभरमा आउट भए। ५५ बल खेलेर एक छक्का तीन चौका प्रहार गरेका रोहित आउट हुँदा नेपालको स्कोर जम्मा एक सय १६ थियो।
सात रन थप्दा नेपालले सातौँ विकेट पनि गुमायो। २१ बलमा १४ रन बनाएका दीपेन्द्रसिंह ऐरी भान बिकको सिकार बने। सर्ट बलमा अनावश्यक छेडखानी गर्दा उनी विकेट गुमाउन पुगे।