निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाएसरह : सांसद भट्टराई

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन्।उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए। 

ग्राउन्ड ह्यान्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उनको दाबी थियो। उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउन्ड ह्यान्डलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए। 

निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्यांकन गर्न आवश्यक रहेको बताउँदै उनले तीन हजार कर्मचारी राखेर चारवटा जहाज उडान भर्ने निगम आवश्यक दाबी गरे। 

नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरूका कर्मचारी एक हजार एक सय पुगेको भन्दै  वायुसेवा निगमसँग चारवटा जहाज हुँदा तीन हजार कर्मचारी रहेको उनले बताए।एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एकजना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौँ कर्मचारी भर्ती गरिएकोमा असन्तुष्टि जनाए। 

उनले भने, ‘एमालेले सरकार चलाएको वेलामा एकजना पनि कर्मचारी थप भएको थिएन। त्यसपछि सयौँ कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन ? त्यसलाई सोमलियाकी आमाजस्तो बनाउने हो ? जुन आमाको दूध आउँदैन। आमाको दूध चुसिराख्ने ? त्यो आमाको रगत चुसेजस्तै हो। नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानुजस्तै हो। आज त्यस्तै भइरहेको छ।’

सुझावित समाचार