पोखरामा दक्षिण एसियाकै पहिलोपटक ड्रागन बोट रेस शुक्रबारदेखि हुँदै छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुने बोट रेसलाई नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल नाम दिइएको छ ।
दुई दिनसम्म चल्ने ड्रागन बोट रेसको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । रेसमा नेपालबाट सर्वाधिक चार टोलीले भाग लिनेछन् । यसैगरी, नेपाल र चीनको संयुक्त एक टोली पनि प्रतियोगितामा सहभागी हुनेछ ।
चीनका दुई र सिंगापुरको एक टोलीले भाग लिने आयोजकले जनाएको छ । चीनबाट सिचुवान र युनानको टोलीले भाग लिनेछन् । एसजी सिंगापुरसँगै चीन–नेपाल फ्रेन्डसिपको संयुक्त टोलीले प्रतिस्पर्धा गर्ने पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।
बिहीबार प्रतियोगिताको छनोट चरणमा बेगनास ताल डुंगा व्यवसायी समिति बाहिरिएको छ । नेपाल र चीनबीचको सम्बन्ध सुमधुर बनाउन र चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
फेस्टिभलअन्तर्गत दुई सय र पाँच सय मिटर रेसमा आठ बोट हुनेछन् । आठ बोटमा १२० जना खेलाडी हुनेछन् । बोट रेसमा सहभागी हुन चीनबाट केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट जेठको तेस्रो साता पोखरा ल्याइएको थियो ।