वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

वेस्ट इन्डिजले दिएको तीन सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ३८ रन जोड्यो

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण
वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित

नेपालका आरिफ सेख अफ साइडमा रन लिने प्रयासमा

दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपाल ग्लोबल छनोटमा एक सय १ रनले पराजित भएको छ । जिम्बावेको हारारे मैदानमा बिहीबार समूह ‘ए’मा नेपालले पूर्वच्याम्पियन वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको हो । टेस्ट राष्ट्र वेस्ट इन्डिजले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रनको विशाल योगफल खडा गरेको थियो । नेपालले लक्ष्य 
पछ्याउँदा ४९.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ३८ रन जोडेको थियो । हारसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा रह्यो । 

नेपालले तीन खेलमा दुई हार र एक जितका साथ दुई अंक बटुलेको छ । अमेरिकालाई हराएको नेदरल्यान्ड्स दुई अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । रनरेटमा नेदरल्यान्ड्स राम्रो छ । लगातार दुई खेलमा जित निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ । 

वेस्ट इन्डिजले चार अंक बटुलेको छ । आयोजक जिम्बावेले समान दुई खेलबाट चार अंक जोडेको छ । रनरेटका आधारमा जिम्बावे दोस्रो स्थानमा छ । यस समूहबाट तीन टोली सुपर सिक्समा जानेछन् । नेपालले सुपर सिक्सको आशा जीवितै राख्न अर्को खेलमा नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ । यद्यपि, नेपालको तुलनामा नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ ।

 पुरन र होपका शतक
फिल्डिङ गरेको नेपालले पहिलो पावर प्लेमा क्रिकेटकै अनुभवी राष्ट्र वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो । सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले सुरुका समान एक विकेट लिँदा बलियो वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को कमजोर अवस्थामा थियो । यस वेलासम्म नेपालले खेल पकडमा राखेको थियो । तर, कप्तान साइ होप र निकोलास पुरनले चौथो विकेटका लागि दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरे । 

होप र पुरनबीचको साझेदारीका कारण नेपाल खेलमा पछाडि पर्‍यो । यी दुवै ब्याट्सम्यानले वेस्ट इन्डिजलाई ४३.६ ओभरमा २७१–४ को बलियो स्थितिमा राखे । डरलाग्दो साझेदारीलाई दीपेन्द्रसिंह ऐरीले तोडे । ऐरीले पुरनलाई कट एन्ड बोल्ड गरे ।

पुरनले ९४ बलमा १० चौका र चार छक्का प्रहार गरी एक सय १५ रन बनाए । त्यसपछि होपले रोभम्यान पावेलसँग पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ४७.१ ओभरमा ३१०–५ को स्थितिमा राखे । पावेलले १४ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रन जोडे । शतकीय इनिङ्स खेलेका कप्तान होप इनिङ्सको ४९.२ ओभरमा आउट भए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १३२ रन बनाए । वेस्ट इन्डिजको ब्याटिङमा ओपनर ब्रान्डोन किंग्सले ४२ बलमा ३२ रन जोडे । 

 शेख र झाबीचको अर्धशतकीय साझेदारी
वेस्ट इन्डिजले नेपालसमक्ष विशाल लक्ष्य दिएको थियो । वेस्ट इन्डिजका विश्वस्तरीय बलरसामु नेपाली ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । इनिङ्सको एक समय नेपाल २२.१ ओभरमा ९२–५ को कमजोर अवस्थामा थियो । नेपालको ब्याटिङमा आरिफ शेख र गुल्सन झाले सातौँ विकेटका लागि ६८ रनको बलियो साझेदारी भयो । यी दुवै ब्याट्सम्यानले ९४ बलको सामना गरी नेपालको स्कोरलाई उकासे । शेखलाई राम्रो साझेदारी दिएका गुल्सनले आफ्नो विकेट ४३.३ ओभरमा गुमाए । उनले ५८ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४२ रनको महŒवपूर्ण योगदान दिए । 

शेखले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आफ्नो विकेट जोसेपलाई दिए । ४५.६ ओभरमा आउट हुनुअगाडि शेखले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरे । इनिङ्सको अन्त्यमा करणले नेपाललाई अलआउट हुनबाट बचाउन धेरै कोसिस गरेका थिए । क्रिजमा ललित राजवंशी रहे पनि धेरैजसो बलको सामना करणले नै गरेका थिए । करणले २७ बलमा चार चौका र एक छक्का प्रहार गरी २८ रनको योगदान दिए ।

करणले राजवंशीसँग अन्तिम विकेटका लागि २२ बलमा २६ रनको साझेदारी गर्दैै नेपालको हार अन्तर कम पार्ने प्रयास गरे । यसअघि, नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ३० रन जोडे । दोस्रो ओपनर आसिफ शेखले तीन चौकाको सहयोगमा २८ रन बनाए । नेपालका पाँचजना ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । 

 दुई खेलपछि सन्दीपको विकेट
एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने अमेरिका र जिम्बावेविरुद्ध विकेटविहीन भएका थिए । तेस्रो खेलमा सन्दीपले ओपनर किंग्सलाई १५.३ ओभरमा क्लिन बोल्ड गरे । सन्दीपले १० ओभरमा एक मेडन राखी ५० रन खर्चे ।

नेपालका लागि ललित राजवंशीले ५२ रन खर्चंदै सर्वाधिक तीन विकेट हात पारे । करणले एक विकेटका लागि सर्वाधिक ८१ रन खर्चेका थिए । उनले आफ्नो बलिङ स्पेलमा १० चौका र दुई छक्काको सामना गरे । यसैगरी, गुल्सन झाले एक विकेट लिन ६४ रन खर्चेका थिए । उनले पाँच चौका र चार छक्का सामना गर्न पुगे । स्पिनर दीपेन्द्रसिंहले ४५ रन खर्चंदै एक विकेट हात पारे । 

 अझ राम्रो गर्न सक्थ्यौँ
रोहित पौडेल, कप्तान, नेपाल

वेस्ट इन्डिजसँगको प्रतिस्पर्धामा नेपालले बलिङमा निकै राम्रो सुरुवात गरेको थियो । हामीले बलिङ पहिलो स्पेलमा उत्कृष्ट गर्‍यौँ । तर, केही सहज क्याच मिस भयो । ती क्याच समातिदा खेलमा नेपालको पकडमा हुन्थ्यो । खेलको मध्यभागमा पुरन र होपले उत्कृष्ट ब्याटिङ गरे । वेस्ट इन्डिजले हामीलाई विशाल लक्ष्य दिनु पछाडि पुरन र होपकै ब्याटिङका कारण हो । मलाई लाग्छ, फास्ट बलमा यो भन्दा राम्रो गर्न सकिन्थ्यो । आरिफ र गुल्सनले नेपालको ब्याटिङमा राम्रो गरे । हामी सट बलमा सर्तक भएर खेल्नु पर्छ । वेस्ट इन्डिज जस्तो टेस्ट राष्ट्रविरुद्ध एक समय चुनौति दियौँ । मलाई विश्वास छ, अर्को खेलमा नेपाल उत्कृष्ट पुनरागमन गर्ने छ । 

 नेपालको बलिङ राम्रो थियो
साइ होप, कप्तान, वेस्ट इन्डिज

नेपालको बलिङ निकै राम्रो थियो । पहिलो स्टेजमा नेपाली बलरले सोचे भन्दा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण खेलको एक समयमा हामी पछाडि परेका थियौँ । विशेष गरी नेपाली स्पिनरले अस्वभाविक रूपमा उत्कृष्ट स्पेल गरे । मौका पाउँदा नेपालका बलरले विकेट लिए । नेपालसँगको खेलमा हामीले केही गल्ति गरेका छौँ । जुन गल्ति अव आउने महत्वपूर्ण खेलमा सच्याउनु पर्छ । प्रतिस्पर्धाको विश्लेषण गर्दा दुवै टोलीले राम्रो खेलेको भन्नुपर्छ । राम्रो चुनौति दिँदा दिँदै नेपालले हारको सामना गर्‍यो । मलाई आशा छ, नेपालले आउँदा खेलमा यो भन्दा राम्रो गर्ने छ । 

सुझावित समाचार