माओवादीले बोलायो केन्द्रीय समिति बैठक

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ। 
    
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। 

केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय छ। माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश छन्। 

माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रूपमा केन्द्रीय समिति बैठक बसेको थियो। 

यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो । गत मंसिरमा संघ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ। 

बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उनले जानकारी दिए। 

उनले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्यविभाजनलाई टुंगो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिए। 

सुझावित समाचार