कता जान सक्छन् एम्बाप्पे ?

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

पेरिस सेन्ट जर्मेन (पिएसजी)मा केलियन एम्बाप्पेले सम्झौता नगर्ने भइसकेका छन् । पिएसजीले समेत आफ्ना मुख्य स्ट्राइकर एम्बाप्पे नयाँ सिजनमा नबस्ने स्पष्ट पारेको छ । अब नयाँ सिजनमा सन् २०१८ को विश्व च्याम्पियन खेलाडी एम्बाप्पे कहाँ जान्छन् भन्ने चासोको विषय बनेको छ ।

नयाँ सिजनमा फ्री ट्रान्सफरमा एम्बाप्पेको मार्केट भ्यालु १८० मिलियन युरो रहेको छ । युरोपियन क्लबमा थोरै मात्रले मार्केट भ्यालुअनुसार रकम खर्चन सक्छन् । तर, २४ वर्षीय एम्बाप्पेमाथि कीर्तिमानी रकम खर्चनु चुनौतीपूर्ण हुन सक्छ । सन् २०१७ मा पिएसजीमा आबद्ध भएका एम्बाप्पेले दुई सय ६० खेलमा दुई सय १२ गोल गरेका छन् । उनले ९८ पटक असिस्ट गरे । मोनाकोबाट सुरुवाती चरणमा लोनमा भित्रिएका एम्बाप्पेले पाँच लिग तथा विभिन्न १३ उपाधि जितेका छन् । 

फ्रान्सको राष्ट्रिय टोलीबाट उनले ६८ खेलमा ३८ गोल गरेका छन् । फ्रान्सेली टोलीमा सर्वाधिक गोल गर्ने उनी पाँचौँ स्थानमा छन् । फ्रान्सका लागि ओलिभर जिरुडले सर्वाधिक गोल गरेका छन् । जिरुडभन्दा एम्बाप्पे १५ गोलले पछाडि छन् । गत मंसिर–पुसमा कतारको दोहामा भएको फिफा विश्वकपमा एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए । विश्वकपमा सन् १९६६ पछि फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । 

 रियल म्याड्रिड
एक वर्षअघिसम्म स्पेनिस क्लब म्याड्रिडले एम्बाप्पे भित्र्याउन कोसिस गरेको थियो । यसपटक म्याड्रिडले उनलाई भित्र्याउन १५० मिलियन युरो खर्चन तयार छ । एम्बाप्पेले पनि म्याड्रिड सपनाको क्लब भएको जनाएका छन् । फिफा वर्ष खेलाडी करिम बेन्जिमा साउदी अरेबिया गएपछि म्याड्रिडलाई स्टार स्ट्राइकरको अवश्यकता छ । यस्तोमा एम्बाप्पे नै पहिलो छनोट हुन सक्छ । साथै, नयाँ सिजनमा म्याड्रिडले ह्यारी केनमाथि पनि नजर राखेको छ । प्रशिक्षक कार्लोस एन्सोलेटीले यी दुई खेलाडीमध्ये एकलाई अनुबन्ध गर्न सक्ने सम्भावना छ । 

 म्यानचेस्टर युनाइटेड
प्रशिक्षक एरिक टेन हाङ फिनिसिङ लाइन बलियो बनाउन भरपर्दो स्ट्राइकरको खोजीमा छन् । इंग्लिस प्रिमियरसिपमा गर्विलो इतिहास बोकेको युनाइटेडले केही समयअगाडि एम्बाप्पे भित्र्याउने योजना अगाडि सारेको थियो । त्यो वेला पिएसजीले एम्बाप्पेलाई बेच्न तयार भएन । युनाइटेडका मालिक पनि विश्वस्तरीय स्ट्राइकर अनुबन्ध गर्न भनेको जति रकम खर्चन तयार छन् । यद्यपि, प्रशिक्षक एरिकले एम्बाप्पेसँगै अन्य नाम चलेका खेलाडी अनुबन्ध गर्न लिस्ट तयार पारेका छन् । 

 साउदी अरेबिया 
व्यावसायिक रूपमा आर्थिक पक्ष बलियो बनाउन एम्बाप्पेले साउदी अरेबिया रोज्न सक्ने आधार छन् । गत सिजनमा युनाइटेडबाट क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया क्लबमा आबद्ध भएका थिए । गत साता मात्र बेन्जिमा पनि उतै पुगेका थिए । स्टारडमभन्दा पनि आर्थिक पक्ष सबल बनाउन विश्वचर्चित खेलाडीले साउदी अरेबियालाई पहिलो प्राथमिकतामा राखेका छन् । साउदी अरेबियाले पनि आफ्नो लिगलाई विश्व मार्केटमा हलचल मच्चाउन युरोपमा जमेका खेलाडीलाई भित्र्याउने अभियान चालेको छ । 

 चेल्सी
चेल्सीका मालिक टोडले नयाँ सिजनका लागि ५५० मिलियन पाउन्ड बजेट प्रस्तुत गरेका छन् । यति रकममा चेल्सीले कुनै पनि खेलाडी सहजै भित्र्याउन सक्छ । यसै सिजनमा चेल्सीले १२१ मिलियन पाउन्डमा इन्जो फर्नान्डेज र ८९ मिलियन पाउन्डमा मुर्डिकलाई भित्र्याएको थियो । चेल्सीले आफ्नो फिनिसिङ पक्ष बलियो पार्न एम्बाप्पे पनि अर्को खेलाडी हुन सक्छन् । यसपटक लिगमा चेल्सी १२औँ स्थानमा रह्यो । 

 लिभरपुल 
सन् २०२० मा एम्बाप्पेले पिएसजीपछि लिभरपुर वैकल्पिक क्लब भएको जनाएका थिए । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले त्यतिवेला एम्बाप्पेमाथि लगानी गर्न चाहेनन् । लिभरपुलमा अन्य स्टार खेलाडी रहँदा टोलीको तालमेल नै बिग्रने भएका कारण क्लोपले खर्चिलो खेलाडीलाई नभित्र्याउने योजना बनाए । अहिले च्याम्पियन्स लिग र प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्न लिभरपुललाई नयाँ खेलाडीको आवश्यकता रहेको ब्रिटिस एजेन्सीहरूले जनाएका छन् । 

सुझावित समाचार