पहिलो खेलमै नेपाल स्तब्ध, कुवेत ३-१ गोलले विजयी

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

साफ च्याम्पियनसिप २०२३ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। 

भारतको बेंगलुरुस्थित कान्तिराभा रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको हो। 

नेपालले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल खाएको थियो। 
कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३औँ र साइबाइबा अल्खाल्दीले ४१औँ मिनेटमा गोल गरेर टिमलाई पहिलो हाफमै २–० को अग्रता दिएका थिए। दोस्रो हाफमा मोहम्मद अब्दुल्लाहले पेनाल्टी प्रहारमा तेस्रो गोल गरे। 

नेपालको तर्फबाट भने ६७औँ मिनेटमा सान्त्वना गोल गर्यो। नेपालका लागि अन्जन विष्टले कुवेतका तीन डिफेन्डर र गोलरक्षकलाई समेत छक्याउँदै बक्सभित्रबाट सानदार गोल गरे।

योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन्। उनी नेपालका लागि सर्वाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन्। उनीभन्दा अघि हरि खड्का र निराजन रायमाझी छन्। दुवैले समान १३ गोल गरेका छन्। 

साफ च्याम्पियनसिपमा पहिलोपटक दक्षिण एसियाबाहिरका कुवेत र लेबनान समावेश छन्। दुवैलाई आमन्त्रित टिमका रूपमा समावेश गरिएको हो। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा भारत र पाकिस्तान पनि छ।

सुझावित समाचार