आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले दुई सय आठ रनको लक्ष्य पाएको छ।
जिम्बावेको हरारेमा जारी खेलमा ४९ ओभरमा अलआउट हुँदै अमेरिकाले दुई सय सात रन बनायो। आफ्नो अन्तिम ओभरमा गुल्सन झाले दुई विकेट लिएपछि अमेरिका निर्धारित ५० ओभरको खेलमा एक ओभरअगाडि नै अलआउट भएको हो।
अमेरिकाका लागि सायन जहाँगिरले नटआउट रहँदै एक सय रन बनाए। ध्वस्त भएको अमेरिकी इनिङ सम्हाल्ने क्रममा उनले जम्मा ७९ बलमा तीन छक्का र १० चौकाको मद्दतले एक सय रन बनाएका हुन्।
नेपालका लागि करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने लगादार दुई म्याचमा विकेटविहीन भए। लगातार ३३ म्याचमा विकेट लिएर विश्व रेकर्ड बनाएका सन्दीप आज पनि निराश भए।
अमेरिकाले ९/२ ओभरमा १८ रन मात्र बनाउँदा चार विकेट गुमाइसकेको थियो। त्यसपछि पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै अमेरिका खेलमा सम्हालिएको हो।
थप २९ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि ३४ रनमा अर्को विकेट गुमायो। एक इन्डबाट जहाँगिरले विकेट रोकेपछि भने अमेरिकाले स्कोरबोर्डमा रन थपिरह्यो।
सुरुमा केही सम्हालिएर खेलेका जहाँगिरले अन्ततः विस्फोटक ब्याटिङ गर्दै ७९ बलमै आफ्नो पहिलो एकदिवसीय शतक पूरा गरे। साथै, अमेरिकालाई पनि फाइटिङ टोटलसम्म पुर्याए।