चीनको होन्जाउमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागिता जनाउने २९ खेलका खेलाडीले सम्बन्धित संघका प्रशिक्षकबाट प्रशिक्षण गरिरहेका छन् । कतिपय खेलका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि प्रशिक्षक उपलब्ध गराएको छ । राखेपले महिला फुटबल टोलीको प्रशिक्षणमा आफ्ना दुई प्रशिक्षक खटाएको छ । एन्फाबाट पनि एकजना प्रशिक्षक छन् । यस्तोमा एकै खेलमा राखेपका दुई र एन्फाका एकजना प्रशिक्षकबाट महिला खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
राखेपबाट फुटबलमा मुख्य प्रशिक्षक अरुणा गुरुङ रहँदारहँदै बालगोपाल महर्जनलाई पनि टोली हेर्न भनी जिम्मेवारी दिइएको छ । एन्फाले एएफसी ए लाइसेन्सप्राप्त अनन्तराज थापालाई फुटबल टोली हेर्न पठाएको छ । यसअघि गुरुङ र थापाले दोस्रो चरणको प्रशिक्षणबाट २२ खेलाडी छनोट गरेका थिए । अहिले तेस्रो चरण चलिरहँदा महर्जन मुख्य प्रशिक्षककै रूपमा देखिएका छन् । यसअघि महर्जनले नै पहिलो चरणमा खेलाडी छनोट गरेका थिए ।
मुख्य प्रशिक्षक अरुणा गुरुङ र अनन्तराज थापाले महिला फुटबल टोलीलाई प्रशिक्षण गराइरहँदा तेस्रो प्रशिक्षकका रूपमा बालगोपाल महर्जन खटिएका छन्
एन्फाबाट खटिएका प्रशिक्षक थापालाई यसबारेमा केही पनि जानकारी दिइएको छैन । राखेप तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक संगीना वैद्यसहित गुरुङ, थापा र महर्जनले अन्तिम खेलाडी छनोट गराउँदा हस्ताक्षर गरेका छन् । यसअघि एन्फा महासचिव किरण राईले २४ जेठमा राखेपलाई पठाएको सूचीमा प्रशिक्षणको संयोजक गुरुङ, हेड अफ डेलिगेसन एन्फा उपाध्यक्ष दीपक खतिवडा, प्रमुख प्रशिक्षकमा थापा, टिम म्यानेजरमा बिना नवाच्छे श्रेष्ठ र गोलरक्षकमा सुरजकुमार लामाको नाम सिफारिस गरेका थिए ।
गत शुक्रबारदेखि एन्फाका प्रशिक्षक थापालाई जानकारी नदिई गुरुङ र महर्जनले टोलीको प्रशिक्षण गराएका छन् । त्यसयता, थापा प्रशिक्षणमा सहभागी भएका छैनन् । आइतबार गुरुङले २२ खेलाडीलाई सूर्यविनायकको घ्याम्पेडाँडामा हाइकिङ लग्दा थापालाई साथ लगिनन् । सोमबार पनि महर्जन र गुरुङले नै टोलीको प्रशिक्षण गराएका छन् । ‘राखेपबाट हस्तक्षेप भएपछि हाम्रो तर्फबाट प्रशिक्षण भएको छैन,’ एन्फाको एक उच्च अधिकारीले नयाँ पत्रिकालाई भने ।
एन्फाका महासचिव राईले राखेपको निर्देशनअनुसार नै आफूहरूले प्रशिक्षण गराएको, तर पछिल्लो समय खेलाडीको प्रशिक्षणमा एन्फाबाट कोही पनि नभएको जनाए । प्रशिक्षकको सम्बन्धमा राखेपले ‘क्लियर’ निर्णय लिनुपर्ने उनले बताए ।
‘परिषद्को बैठकबाट हामीले प्रशिक्षणको जिम्मेवारी पाएका हौँ, पछि राखेपले गर्ने भनेको छ,’ राईले भने, ‘यद्यपि, राखेपले हामीलाई दिने भनिएको छ, तर हामीलाई आधिकारिक पत्र चाहिन्छ ।’ राईले एन्फाको लेटर प्याडमा खेलाडी र प्रशिक्षक नाम सबै दर्ता गरेको जानकारी दिएका छन् । उनले प्रशिक्षण कसले गराउने राखेप स्पष्ट हुनुपर्ने माग राखेका छन् ।
प्रशिक्षण संघले नै गराउने हो
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
एसियाडमा छनोट भएका खेलाडीहरूको प्रशिक्षण संघले गराउने हो । यदि यस्तोमा केही विवाद आए त्यसलाई सच्याउनुपर्छ । राखेपले संघलाई नै प्रशिक्षण जिम्मेवारी दिएको छ । खेलाडीको छनोट पनि संघले नै गर्ने हो । यसमा राखेप संघसँग बायस हुनपर्ने छैन । परिषद्को यस्तो नीति छ । कोही कसैबाट समस्या उत्पन्न भएको हुन सक्छ । त्यसलाई तुरुन्तै ‘करेक्सन’ गर्नुपर्छ ।
प्रशिक्षण कसले गराउने, राखेप प्रस्ट हुनुपर्यो
किरण राई, महासचिव, एन्फा
राखेपको बैठकबाट हामीले प्रशिक्षणको जिम्मेवारी पाएका हौँ, पछि राखेपले गर्ने भन्यो, तर हामीलाई आधिकारिक पत्र चाहिन्छ । हामीले लेटर प्याडमा खेलाडी र प्रशिक्षक नाम सबै दर्ता गराएका छौँ । प्रशिक्षण कसले गराउने, राखेप स्पष्ट हुनुपर्छ ।
खेलाडी भन्छन्– हामीलाई विवादमा नमुछिदिनुस्
अहिले प्रशिक्षक को हुने भनेर लडाइँ देख्छौँ । हामीलाई विवादमा नमुछिदिनुहोला । प्रशिक्षण जसले गराए पनि हुन्छ, तर को राम्रो वा नराम्रो प्रश्न कसैले नगर्दा हुन्छ । एक–दुई दिनमा प्रशिक्षक परिवर्तन हुँदा समस्या हुन्छ । प्रशिक्षण शैली नै फरक हुने हुँदा पक्कै समस्या हुन्छ । जो आए पनि एउटा निर्णय चाँडै चाहिएको छ ।