चितवनमा मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

चितवनमा यस वर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ।

लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन्। केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा ६ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ । सिँचाइको व्यवस्था नभएको र उच्च तापक्रमका कारण पराग कण नष्ट हुँदा उत्पादन घट्ने उनको भनाइ छ ।

गत वर्ष जिल्लामा २६ हजार चार सय ७४ मेट्रिकटन मकै उत्पादन भएको थियो भने यो वर्ष उत्पादन १८ हजार पाँच सय ३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ ।

जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जातका मकै लगाइँदै आएको छ। भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिका मकैखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन्।

सुझावित समाचार