एसियाडका लागि १३ खेलाडी छनोट

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

नेपाल बक्सिङ संघले १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि १३ खेलाडी छनोट गरेको छ । संघले पुरुषतर्फ सात र महिलामा ६ खेलाडी छानेको जनाएको छ । प्रतियोगिताको फ्लाई वेट ५० किलो महिला तौल समूहमा नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५–२ को आधारमा पराजित गर्दै एसियाडको स्थान पक्का गरेकी छिन् । महिलातर्फ ५४ किलो तौल समूहमा आर्मीकी मिनु गुरुङले बक्समान्डुकी अञ्जली तेलीलाई ४–१ ले पराजित गरिन् । 

महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरीकी निशा तामाङलाई ५–० को आधारमा हराउँदै एसियाडमा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । महिलाको ६० किलो समूहमा एपिएफकी संगीता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई हराइन् । ६६ किलो तौल समूहमा एपिएफकी विनिता थापामगरले आर्मीकी निरु गुरुङलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गरिन् । महिला ७५ केजीमा एपिएफकी सरस्वतीले एपिएफकी मनिता राईलाई फाइनलमा हराइन् । 

यसैगरी, पुरुषतर्फ ५१ किलो तौल समूहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५–२ का आधारमा पराजित गरेका छन् । ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४–१ को स्प्लिट डिसिजनका आधारमा बोसीगाउँ क्लबका सुलभ मालीलाई पराजित गरे । ६३.५ किलो तौल समूहमा नेपाल प्रहरीका भूपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरमाथि ५–० अंक जित निकाले ।

भूपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । पुरुष ७१ किलो तौल समूहमा आर्मीका दीपेश लामाले सुदूरपश्चिमका भरत चन्दलाई ४–१ अंकका आधारमा पराजित गरे । पुरुष ८० किलो तौल समूहमा आर्मीका दीपक श्रेष्ठले बक्समान्डुका मनोज तामाङलाई वाकओभरका आधारमा निराश पारे । ९२ किलो तौल समूहमा गण्डकीका दीपक सुनवारले एपिएफका रविन नेपालमाथि ४–० को एकपक्षीय नतिजा निकाले । ९२ केजीमाथि आर्मीका आशिष दवाडी छनोट भए ।

पहिलो दिन तीन खेलाडी छनोट
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत उसुमा तीन खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्ड हलमा भएको प्रतियोगितामा थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिँजाली तथा महिलामा सुस्मिता तामाङ छनोट भए । सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिए । छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुन् ।

See More On

सुझावित समाचार