जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीहरूसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको एउटा स्थानमा १०–१२ वटा ठिकै आकारका खाल्डा खनिएका थिए । त्यसरी ठाउँठाउँमा खाडल खनिएको देख्दा जिससका शिष्यहरूमा कौतुहल जाग्यो ।
उनीहरूमा त्यहाँ खाडल खनिनुको कारण थाहा पाउन मन लाग्यो । अन्त्यमा आफ्नो मनको खुल्दुली मेटाउन जिसका एक शिष्यले उनलाई सोधे, ‘गुरुदेव, यो बाटोभरि ठाउँठाउँमा लगभग एकै आकार–प्रकारका खाल्डाहरू खनिएका देखिन्छन् । तर, यसरी यी खाडल खन्नुको कारणबारे भने केही पनि बुझ्न सकिएन । हजुरले नै यसको कारणबारे प्रस्ट पारिदिनुपर्यो ।’
आफ्ना शिष्यको जिज्ञासा सुनेपछि जिसस एकैछिन गम्भीर भए र भने, ‘कुनै एकजना मानिसले पानीको खोजीमा यहाँ यी खाल्डाहरू खनेको हो । एउटा खाल्डो खनेपछि उसले त्यसमा पानी भेटेन र पानी नभेटेपछि उसले फेरि अर्को खाल्डो खन्यो । उसले त्यसमा पनि पानी भेट्न सकेन । त्यसपछि उसले अर्को फेरि अर्को गर्दै यसरी खाल्डैखाल्डा खन्यो । यो सिलसिला लामै समय चलिरह्यो ।
जसले गर्दा उसले यतिका धेरै खाल्डा खन्यो । तैपनि, उसले पानी भेट्टाएन । अन्ततः थाकेपछि उसले यो सिलसिला त्यागिदियो । वास्तवमा त्यो मानिसमा धैर्य थिएन । उसले यति धेरै खाल्डा खन्नमा बढी श्रम र समय लगायो । यदि बुद्धिमानीपूर्वक साराका सारा समय र श्रम एउटै खाल्डो खन्नमा लगाएको भए उसले अवश्यै पानी पाउने थियो । त्यसैले मानिसले हरेक काम धैर्यपूर्वक बुद्धि लगाएर गर्नुपर्छ । यदि मान्छेले कुनै काम मन लगाएर गर्छ र थोरै धैर्य पनि राख्छ भने उसले परिश्रमको मिठो फल अवश्य पाउनेछ ।’