समालोचक युवराज मैनालीको समालोचना संग्रह ‘दृष्टिः दृष्टिकोण’ को लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा बैरागी काइँलाको प्रमुख आथित्यतामा शनिबार भएको एक कार्यक्रममा कृतिको लोकर्पण भएको हो ।
पूर्वकुलपति काइँलाले कृति विमोचन गर्दै साहित्य सिर्जना गार्हो विषय भएको र त्योभन्दा पनि निकै गाह्रो समालोचनाको विषयमा मैनालीले कलम चलाएको बताए । भावी दिनमा अरू गहन सिर्जना र समालोचनामार्फत समाज र सर्जकलाई बाटो देखाइरहन उनले शुुभकामना दिए ।
कृतिकार मैनालीले आफ्नो समालोचना कृतिको रचना गर्भमाथि प्रकाश पार्दै आफूले निष्पक्ष रूपमा समालोचना गरेको र आउँदा दिनमा पनि व्यक्तिका आधारमा भन्दा कृतिको आधारमा समालोचना गर्ने कुरा उल्लेख गरे ।
धेरै चर्चामा आएका, चर्चामा कम आएका, धेरै वरिष्ठ र नवोदित सबै प्रकारका स्रष्टाका कृतिहरूको प्रतिनिधिमूलक समलोचना गर्दै आएको उनको भनाइ छ ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा आयोजित कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’ को अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक डा. अर्जुनदेव भट्टले गरेका थिए ।
लोकार्पित कृतिको विषयमा वरिष्ठ समालोचक प्रा.डा. लेखप्रसाद निरौला, नेपाली शिक्षण समितिको अध्यक्ष एवं त्रिवि केन्द्रीय नेपाली शिक्षण विभागका प्रमुख वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुुइँटेल, प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. दिनेशराज पन्त, वरिष्ठ समालोचक एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति प्रा.डा. कुलप्रसाद कोइरालाले टिप्पणी गरेका थिए ।
साहित्यिक संस्थाहरूका तर्फबाट दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ कवि प्रह्लाद पोखरेल, मैनाली समाजका अध्यक्ष शम्भुप्रसाद मैनालीलगायतले शुुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ कवि श्रीहरि फुुँयाल, वरिष्ठ आख्यानकार लव गाउँले, वरिष्ठ निबन्धकार-समालोचक गोपी मैनाली, वरिष्ठ कवि बाजुराम शर्मा, वरिष्ठ समालोचक ठाकुर शर्मा, वरिष्ठ साहित्यिक पत्रकार आश्विनी कोइराला, वरिष्ठ व्यंग्यकार विमल भौकाजी, वियोगी बुढाथोकी, वरिष्ठ कवि कृष्ण बाउसे, भुुवनेश्वरी पाठकलगायतको उपस्थित थियो ।