नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सांसदहरूले संसदमा स्थानीय तहका अधिकार कटौती गरेको बारेमा आवाज उठाउन नसकेको बताएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले बजेट स्थानीय तहहरूमा कसरी विनियोजन गर्ने भन्नेमा सांसदहरूले साथ दिन आवश्यक रहेको बताए।
स्थानीय तहका अधिकारका बारेमा संसदमा आवाज उठाए र स्थानीय तहको बजेटका बारेमा सांसदहरूले बोले आफूहरू सडकमा आवाज उठाउन तयार रहेको उनको भनाइ छ। ढुंगानाले स्थानीय तहका अधिकार केन्द्रबाट नियन्त्रणमा लिए सह्य नहुने चेतावनी दिए।
‘एकपटक अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्छौँ, त्यसपछि कुनै पनि निर्णय गर्न हामीलाई विवश नबनाइदिनुहोस् । यहाँ गोहीको आँसु होइन, संसदमा गएर कुरा उठाउनुपर्छ, संघीयता कमजोर यसरी भइरहेको छ भनेर । हामी जगका प्रतिनिधि हौँ। जग बलियो बनाउनुपर्छ,’ उनले भने।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारलाई नीतिगत रूपमा चलाउन सांसदहरूले पनि नीतिगत हिसाबका कुरा उठाउन आवश्यक रहेको प्रस्ट पारे। उनले ससर्त अनुदान कसरी दिइएको हो भन्ने कुरा आफूले बुझ्न नसकेको बताए।