टेस्टराष्ट्र जिम्बावेविरुद्ध नेपाली ब्याटरको उत्कृष्ट प्रदर्शन, अब परीक्षा बलरको

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

एकदिवसीय मान्यता पाएपछि पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध उत्रिएको नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको समूह ‘ए’अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको हो। 

टेस्टराष्ट्र जिम्बावेले गृहमैदान हरारेमा टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनायो । एक समय सहजै तीन सय रन बन्ने सम्भावना देखिएको थियो । तर, पछिल्ला ६ ओभरमा ३१ रन बनाउँदा पाँच विकेट गुम्दा नेपालले तीन सयको मनोवैज्ञानिक सीमा कटाउन भने सकेन।

नेपालले पहिलो विकेटका लागि एक सय ७१ रनको साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ सेखको उत्कृष्ट प्रदर्शनमा नेपालले ब्याटिङमा सुदृढ आधार खडा गरेको थियो ।

नेपालले ३२ ओभरमा एक सय ७१ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । एक रनले शतक बनाउन चुकेका कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाए । उनी मसाकाड्जाको बलमा बोल्ड भए । उनी एकदिवसीयमा दोस्रो शतक बनाउन चुके । 

यस्तै, सय बल खेलेका आसिफले ६६ रनको योगदान दिए । कुशलको विकेट गुमेपछि नेपालले तीन रन थपेलगत्तै आसिफलाई गुमाएको थियो । उनी ठूलो सट खेल्ने प्रयास गर्दा मसाकाड्जाबाटै समातिए । ३५ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । 
 
त्यसपछि कप्तान रोहितकुमार पौडेल र अलराउन्डर कुशल मल्लले आक्रामक सटहरू खेल्दै रनरेट थप उकासे । यसक्रममा नेपालले ४४ ओभरमा दुई सय ५५ रन बनाउँदा चौथो विकेट गुमायो । 

४४ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै कुशल मल्लले नेपालको स्कोर दुई सय ५५ रन पुर्याए । तर, लगत्तैको बलमा कुशल सहज रूपमा क्याचआउट भए । ४२ बल खेलेका कुशलले तीन छक्का र दुई चौका प्रहार गरे । 

त्यसअघि रोहितकुमार पौडेल २९ बलमा ३१ रन बनाई आउट भए । उनले पाँच चौका प्रहार गरे । आसिफले ११ बलमा १० तथा गुल्सन झा ११ बलमा १३ रन बनाई आउट भए । 

सातौँ विकेट गुमेपछि क्रिजमा पठाइएका भीम सार्की पहिलाे बलमै विकेटपछाडि समातिए । दीपेन्द्रले सात बलमा ६ रन बनाए । करन केसीले दुई बलमा दुई रन बनाई नटआउट रहे । 

जिम्बावेका एनगाराभाले नौ ओभरमा ४३ रन दिई चार विकेट लिए । उनले लगातार दुई बलमा आरिफ र भीमको विकेट लिएका थिए ।

एकदिवसीय मान्यता पाएयता नेपालले पहिलोपटक टेस्टराष्ट्रसँग प्रतिस्पर्धा गरिरहेको हो । घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ । 

पहिलो इनिङमा ब्याटरले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब जिम्मेवारी बलरको काँधमा आएको छ । नेपाली बलर पनि पछिल्लो समय उत्कृष्ट फर्ममा छन् ।

सुझावित समाचार