सिजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा ‘मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सिजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फप्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सिजी हस्पिटालिटीको विश्वास छ । सिजी इन्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको मिराया रिसोर्टका अतिथिहरूले गल्फको विशेष मज्जा लिन पाउने बताइएको छ । साथै, शाश्वतधामका दर्शनार्थीका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुनेछ ।
‘वेलनेस, आध्यात्मिक चेतना र वातावरणीय दिगोपनका लागि सिजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु,’ सिजी हस्पिटालिटी होल्डिङ्सका सिइओ राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरूलाई मूर्त रूप दिने गरी तयार गरिएको छ, यहाँ पाहुनाहरूले फरक अनुभूति गर्नुहुनेछ भन्ने विश्वास छ ।’
यो रिसोर्टलाई देशकै वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कामका लागि नेपालको विशेष रिसोर्टका रूपमा लिइएको छ । मिराया रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट पनि छन् । साथै, वाइन टेस्टिङ वर्कसप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलजस्ता सुविधाहरू पनि रिसोर्टमा छन् । गल्फ खेल्न रुचि भएका मानिसका लागि पनि मिराया उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ ।
मिराया रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’का रूपमा प्रख्यात छ । आरामदायी रूपमा बस्न मन पराउने अतिथि वा उनीहरूको अनुभवलाई प्रयोग गर्न चाहनेहरूका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू पनि रहेका छन् । रमणीय जंगल र प्रकृतिले घेरिएको यो रिसोर्ट पर्यावरणमैत्री रहेको छ ।
रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरियन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एन्ड ग्रिल, १९औँ होलजस्ता विकल्प रिसोर्टमा रहेको बताइएको छ । काठमाडौंदेखि पश्चिम र चितवन राष्ट्रिय निकुञ्जको सामीप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको दृश्यावलोकन गर्न सकिन्छ ।
रिसोर्टमा विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रिटसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सकिनेछ । आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधाम मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरू पनि उपलब्ध गराउँछ ।
सिजी हस्पिटालिटीबारे
सिजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सिजीकर्प ग्लोबलको मातहतमा तीव्र गतिमा विस्तार भइरहेको आतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सिजी हस्पिटालिटीको छाताभित्र ताज सफारी, भिभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, र्याडिसन, द फर्न, समिट र द फार्मजस्ता प्रमुख आतिथ्य ब्रान्डहरू रहेका छन् । अहिले नेपालसहित भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्यान्ड, चीन, फिलिपिन्स, अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सिजी हस्पिटालिटीअन्तर्गत सञ्चालित एक सय ५९ वटा होटेलहरू रहेका छन्, जहाँ आठ हजार आठ सय ६३ कोठा उपलब्ध छन् ।