टेस्ट राष्ट्र जिम्बावेलाई नेपालको चुनौती

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
टेस्ट राष्ट्र जिम्बावेलाई नेपालको चुनौती

तस्बिर सौजन्य : आइसिसी

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने सपनासहित ग्लोबल छनोट खेल्न होमिएको नेपाल पहिलो खेलमा जिम्बावेसँग भिड्दै 

टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल्दै नेपालले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोट आजबाट सुरु गर्दै छ । नेपालले पहिलो खेलमै टेस्ट राष्ट्र जिम्बावेविरुद्ध उसैको घरमा खेल्न लागेको हो । हरारेमा हुने खेलमा बलियो जिम्बावेलाई नेपालले चुनौती पेस गर्नेछ । घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाल प्रतियोगितामा सानदार प्रदर्शन गर्ने योजनामा छ । ‘हामी उत्कृष्ट प्रदर्शन गर्दै सपना पूरा गर्न चाहन्छौँ,’ रोहितले आइसिसीसँग भनेका छन् । 

नेपालले आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाएको हो । कप्तान रोहितसँगै सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, करण केसी, ललित राजवंशीलगायतले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई यो उपलब्धि दिलाएका हुन् । आइसिसी एकदिवसीय वरीयतामा जिम्बावे ११औँ स्थानमा छ । 

नेपाल १४औँ स्थानमा छ । यसैबाट पनि थाहा हुन्छ, जिम्बावे नेपालभन्दा कति बलियो । यद्यपि प्रशिक्षक मोन्टी देसाई टोलीको लय कायम राख्ने योजनामा छन् । देसाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपाल १७ अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्रै पराजित भएको छ । त्यसैले नेपालको मनोबल उच्च छ । मानसिक रूपमा खेलाडी तयार रहेको देसाईले बताएका छन् । पहिलोपटक टेस्ट राष्ट्रसँग खेल्दै गर्दा देसाई गम्भीर पनि छन् । नेपाली टोली संयमित छ । 

जिम्बावे पनि नेपालविरुद्ध सतर्क छ । पछिल्लो प्रदर्शनपछि जिम्बावे झस्किएको छ । यद्यपि, जिम्बावेलाई घरेलु मैदान, वातावरण र पिचको भरपूर फाइदा हुनेछ । कप्तान क्रेग एर्विन, रियान बुर्ल, जोयलोर्ड गुम्बाई, सिकन्दर राजा, सेन विलियम्स, वेस्ली मेडहेभरका साथै रिचार्ड गराभाजस्ता खेलाडीले आफ्नो अनुभव प्रयोग गर्न सक्छन् । जिम्बावे पछिल्लोपटक विश्वकपमा स्थान बनाउन असफल भएको थियो । त्यसैले पनि टेस्ट राष्ट्रलाई दबाब छ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेस्ट इन्डिज र ९ असारमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतियोगितामा विश्वकप लिग २ बाट एसोसिएट राष्ट्र नेपाल, स्कटल्यान्ड र ओमान छानिएका हुन् । प्लेअफबाट संयुक्त अरब इमिरेट्स (युएर्र्ई) र अमेरिका छनोट भए । विश्वकप सुपर लिगमा छनोट हुन नसकेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स ग्लोबल छनोट खेल्दै छन् । समूह एमा नेपाल, जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान रहे । 

पछिल्लो भिडन्तमा नेपाल पराजित
नेपाल र जिम्बावेबीच पछिल्लोपटक सन् २०१८ मा प्रतिस्पर्धा भएको थियो । विश्वकप छनोटका लागि भएको प्रतिस्पर्धामा नेपाल एक सय १६ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८० रन बनायो । सिकन्दर राजाले एक सय २३ र ब्रेन्डन टेलरले सय रन बनाएका थिए । नेपालका सोमपाल र वसन्त रेग्मीले समान २ विकेट लिएका थिए । प्रत्युत्तरमा नेपाल ५० ओभर खेल्दै आठ विकेट गुमाएर दुई सय ६४ रनमा समेटिएको हो । नेपालका शरद भेषवाकरले ५२, आरिफ शेखले ५०, कप्तान पारस खड्काले ४० योगदान गरेका थिए । तत्कालीन समय खेलेका पारस, शरद, दिलीप नाथ र वसन्त अहिले टोलीमा छैनन् । पाँँच वर्षपछि खेल्दै गर्दा ज्ञानेन्द्रसँगै दीपेन्द्र, आरिफ, रोहित, सोमपाल, सन्दीप र ललित मात्रै टोलीमा छन् । आसिफ, कुशल भुर्तेल, गुल्सन झा, करण केसी, कुशल मल्ल, किशोर महतो, प्रतिश जिसी, अर्जुन साउद र भीम सार्की नयाँ अनुहार हुन् । 

देसाईको प्रभाव
देसाईको आगमनसँगै नेपाली टोलीले ठूलै जादू गरेको थियो । लगातारको हारले एकदिवसीय मान्यता धरापमा थियो । ग्लोबल छनोटमा पुग्ने नेपालको सपना नै थिएन । जब भारतीय प्रशिक्षक देसाई नेपाल आए, पूरा चमत्कार नै गरे । उनले पछिल्लो १२ मध्ये ११ खेल जिताए । ग्लोबल छनोटमा स्थान बनाए । एकदिवसीय मान्यता जोगाएका छन् । एसिसी प्रिमियर कप उपाधि जिताउँदै एसिया कपमा छनोट गराएका छन् । नेपाल पछिल्ला १७ मध्ये एक खेलमा पराजित भएको छ । देसाई आएपछि आइसिसी विश्वकप लिग २ मा तीन शृंखला खेल्दा दुई ‘क्लिन स्विप’ गर्यो । घरेलु मैदानमा फेब्रुअरीमा भएको शृंखलामा नामिबियालाई दुईपटक हरायो । स्कटल्यान्डलाई पनि लगातार हराउँदै शृंखला ‘क्लिन स्विप’ गर्यो । 

यसपछि नेपाल शृंखला खेल्न दुबई पुग्यो । पपुवा न्युगिनीलाई दुवै खेलमा हरायो भने घरेलु टोली युएईसँग एक हार र एक खेलमा जित निकाल्यो । नेपाल अन्तिम शृंखला खेल्न घर फर्कियो । चारै खेलमा युएई र पिएनजीलाई हराउँदै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो । 

सुपर सिक्स लक्ष्य
नेपालीसहित अधिकांश टोलीले सुपर सिक्स लक्ष्य राखेका छन् । दुई समूहमा समान पाँच टोली छन् । शीर्ष तीनमा स्थान बनाउँदै सुपर सिक्समा सबै टोलीको ध्यान छ । सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिमले अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि स्थान बनाउनेछन् । सुपर सिक्समा पुग्न तीन जितले सहज हुनेछ भने दुई जितले सम्भावना उच्च रहनेछ । एक मात्रै जितले भने सम्भावना कमजोर बन्नेछ । 

समस्या ब्याटिङकै 
नेपाली टोलीको मुख्य समस्या भनेकै ब्याटिङ हो । फिल्डिङ र बलिङमा नेपालको प्रदर्शन सदाबहार चुस्त छ । तर, नेपाल सधैँ बलिया टोलीसँग खेल्दा ब्याटिङमा चुक्दै आएको छ । दीपेन्द्रसिंह ऐरी लयमा नफर्कनु नेपालका लागि सुखद नहुन सक्छ । ओमानविरुद्ध ‘वार्मअप’ म्याचमा कुशल भुर्तेलले शतक प्रहार गर्नु सुखद कुरा हो । उनी लयमा आउँदा नेपालको ओपनिङ बलियो हुनेछ । कुशल र आसिफले पुनः एकपटक नेपालको ओपनिङ सम्हाल्नेछन् । दुवै खेलाडीले सानदार साझेदारी गरेमा नेपालले जिम्बावेलाई दबाबमा राख्न सक्छ ।

पावर प्लेमा नेपाल विकेट नगुमाउने योजनामा हुनेछ । तेस्रो नम्बरमा भीम आउन सक्छन् । पछिल्लो क्रम यस्तै छ । यसपछि कप्तान रोहित, कुशल मल्ल, दीपेन्द्र र आरिफले नेपालको मध्यक्रम धान्नेछन् । सोमपाल, करण र गुल्सनले तल्लो क्रममा आएर पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ‘हामीले राम्रो जित निकाल्नु छ भने साझेदारीमा ध्यान दिनुपर्छ । साझेदारी राम्रो भयो भने सहज परिस्थिति बन्छ,’ कप्तान रोहितले भनेका छन् । बलिङतर्फ तीव्र गतिका करण, गुल्सन र सोमपालसँगै स्पिनर ललित र सन्दीप हुनेछन् । दीपेन्द्र, कुशल मल्ल र आरिफ ‘पार्ट टाइम’ बलर हुन् । नेपाल टस जितेर बलिङ गर्ने दाउमा हुनेछ । 

See More On

सुझावित समाचार