समाजवादी मोर्चा गठन एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन : ओली

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित एक कार्यक्रममा उनले समाजवादी मोर्चाबारे खास वास्ता गर्नु नपर्नेसमेत बताए । 

‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउने रे । त्यसका दुइटा उद्देश्य छन् रे– एउटा एमालेसँग मुकाबिला गर्ने, अर्को कांग्रेसलाई तर्साउने । किन बनाउने समाजवादी मोर्चा ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर त चलेकै छ त । अनि मोर्चा केका लागि ? मोर्चासोर्चा के बनाउँछन् त्यसमा खास वास्ता गर्नुपर्ने छैन,’ उनले भने ।

चारतिर फर्किएकालाई एकठाउँमा जम्मा गरेर राष्ट्रिय शक्ति नबन्ने उनले जिकिर गरे । ‘चारतिर फर्किएर, फरक–फरक उद्देश्य बोकेका तŒव एकठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । त्यो एकछिनका लागि हुन सक्छ, एमालेलाई सरकारबाट हटाउने, सरकारबाट बाहिर राख्ने ०८४ सम्म हुन सक्छ,’ उनले भने । ओलीले राष्ट्रिय शक्ति निर्माण गर्न चाहेको पनि बताए । ‘हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देश र जनताप्रति समर्पित छ, विकास, शान्ति, सुशासनप्रति प्रतिबद्ध छ । र, जनताले सुरक्षा पनि पाउन, न्याय पनि पाउन भन्ने चाहन्छ । त्यसका निम्ति काम गर्ने राष्ट्रिय शक्ति हामी निर्माण गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘हामीले अब मिसन ८४ को तयारी गर्नुछ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’

७० वर्षे उमेरहद उपयोगी भएन
ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले हटाउने निर्णय गरेको जिकिर गरेका छन् । सचिवालय बैठकले उमेरहद हटाउने निर्णय गरेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको छ । उमेरहद जारी भए ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापालगायतका नेताहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउँदैनन् ।

ओलीले ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने र कतिपय अन्य पार्टीबाट आएकालाई जिम्मेवारी दिनुपर्ने भएकाले उमेरहद हटाउने निर्णय गरेको दाबी गरे । काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्न नहुने उनको भनाइ छ । 

‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन् । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एडजस्ट गर्न, जिम्मेवारी दिन पनि ७० वर्ष हटाइदिनुप¥यो । ७० वर्ष कहीँ पनि छैन दुनियाँमा,’ उनले भने, ‘अमेरिकामा छ ? ८० वर्षको मान्छेले राष्ट्रपति चलाइरहेको छ । अनि शेरबहादुर देउवाजी ७७–७८ कति वर्ष हो ? चलाइराख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो । त्यसकारण हटाउने भन्यौँ ।’

चीनलगायतका दुनियाँका सबै पार्टीहरूले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको भन्दै ओलीले उमेरहद हटाउने एमालेको निर्णयको विरोध गर्नु आवश्यक नभएको जिकिर गरे । ‘पार्टीका युवालाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ?’ उनले भने, ‘ए बाबा, चुनाव लड्नुस् न आउँदो महाधिवेशनमा । झन् राम्रो भयो नि त, ७० वर्ष पुगेकाले पनि पाउने भए त लड्न । किन आपत्ति जनाएको ? दौडिनुस् । ७० कासँग दौडनुस् ।’

See More On

सुझावित समाचार