हरिहजुर बने भलिबलका दशौँ कप्तान

किर्गिस्तानको बिस्केकमा आयोजना हुने काभा नेसन्स भलिबल लिगमा हरिहजुर थापाले नेपाली टोलीको कप्तानी गर्ने

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लबका अनुभवी खेलाडी हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल पुरुष टोलीका दशौँ कप्तान बनेका छन् । नेपाल भलिबल संघले बिहीबार नेपाली टोलीका नयाँ कप्तानका रूपमा सेटरबाट खेल्ने थापालाई चयन गरेको हो । यसअघि नेपाली टोलीका नियमित कप्तान इम रानामगर बाहिरिएसँगै थापाले कप्तानीको अवसर गर्न पाएका हुन् । राष्ट्रिय टोलीमा थापा कुनै नयाँ खेलाडी होइनन् । उनी सन् २०१५ देखि निरन्तर रूपमा टोलीका मुख्य खेलाडीका रूपमा रहँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको थुप्रै अनुभव बटुलेका ३२ वर्षीय थापा नेपालकै राष्ट्रिय खेलको नेतृत्व लिन पाउँदा खुसी छन् । 

भलिबल इतिहास हेर्दा नेपालका पहिलो कप्तान ऋषिराज आचार्य हुन् । इमले आठ वर्ष नेपाली टोली सम्हालेका थिए । कैलाश भट्टले एक वर्ष मात्र कप्तानी गर्न पाए । भलिबलमा नेपालका लागि धेरै समयसम्म कप्तानी गर्ने कीर्तिमान भरत शाहले गरेका छन् । उनले १६ वर्ष लगातार नेपाली टोलीको नेतृत्व गर्दैै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाए । 

शाहअघि विष्णु मास्के, सुनील चौधरी, राजेश मास्के, मिन्दोस मास्के, महेन्द्रलाल श्रेष्ठ, ऋषिराजले कप्तानी गरेका थिए । ‘ऋषिराज दाइ नेपालका पहिलो कप्तान हुन् । हरिसम्म आइपुग्दा उनी दशौँ कप्तान बनेका छन्,’ १६ वर्षसम्म नेपालको कप्तानी गरेका शाहले नयाँ पत्रिकासँग भने । शाहले ४३ वर्षसम्म कोर्टमै समय व्यतीत गरेका थिए । 

 चुनौतीको सामना गर्ने
नवनियुक्त कप्तान थापाले सबै किसिमका चुनौती सामना गर्ने बताएका छन् । चुनौतीलाई सहजीकरण गर्दै नेपाललाई सफलता दिलाउनले उनले जनाए । ‘अनुभवी भएर नै जिम्मेवारी पाएजस्तो लाग्छ, मलाई यो अवसर दिने संघलाई धन्यवाद,’ नयाँ पत्रिकासँग थापाले भने, ‘प्राप्त अवसरलाई राम्रो गर्ने प्रयासमा हुनेछ ।’ उनले सन् २०१५ ढाकामा भएको पहिलो एभिसी सेन्ट्रल जोनमा नेपालबाट डेब्यु गरेका थिए । थापाले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा समेत खेलेका थिए । उनीसँग चार संस्करणको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अनुभव छ ।

 कीर्गिस्तानको बिस्केकमा आयोजना हुने काभा नेसन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्ने सबै टोली बलिया भएको उनले बताए । यद्यपि, नेपालको लक्ष्य उपाधि नै हुने उनको भनाइ छ । नेपालको समूहमा इरान र पाकिस्तान छन् । ‘इरान र पाकिस्तानजस्ता बलिया टोली छन्, तर हामी उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदै छौँ,’ प्रतियोगितामा आफ्नो लक्ष्य स्पष्ट पार्दै उनले भने, ‘नेपालको तयारी राम्रो छ ।’ पछिल्लो समय नेपाली खेलाडीको निरन्तर अभ्यास र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदा खेलको स्तर बढेको उनको भनाइ छ । ‘विगतको टोलीभन्दा यो स्तरीय छ । राम्रो नतिजा आउनेमा आशावादी छु,’ उनले भने । 

 पुलिस च्याम्पियन 
नेपाल पुलिस क्लबले कोसी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा भएको उपाधि भिडन्तमा पुलिसले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको प्रतिस्पर्धामा पुलिस बलियो देखियो । ब्लक, डिफेन्स, सर्भिस, रिसिभमा पुलिस राम्रो देखिएको थियो । विजेता पुलिसले तीन लाख र उपविजेता एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरे । विधागत उपाधिमा पुलिसकै वर्चस्व रह्यो ।

सर्वाेत्कृष्ट खेलाडी हुँदै पुलिसकी पुनम चन्दले  ५५ हजार रुपैयाँ हात पारिन् । उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी भइन् । उत्कृष्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, उत्कृष्ट सर्भर पुलिसकी उषा भण्डारी, उत्कृष्ट सेटर पुलिसकी कामला पुन र उत्कृष्ट लिबेरो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक पुलिसका रूपेश विष्ट भए । उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुझावित समाचार