ओमानमाथि नेपालको दुई विकेटको जित, कुशलले बनाए शतक, सोमपालले लिए पाँच विकेट

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

ब्याटर र बलर चम्किएपछि नेपालले ओमानविरुद्धको वार्मअप म्याचमा दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । 

नेपालको जितमा ओपनर कुशल भुर्तेलको शतक, मध्यक्रमका भरपर्दा भीम सार्कीको अर्धशतक र सिमर सोमपाल कामीको पाँच विकेटले खेलको कथा नेपालको पक्षमा लेखियो । 

आगामी वर्ष भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा पुग्ने ढोका मानिएको ग्लोबल क्वालिफायर सुरु हुनअघिको अन्तिम अभ्यास म्याचमा नेपालले जित हात पारेको हो । 

यो जितसँगै नेपालले ग्लोबल क्वालिफायरमा आफू तयार रहेको जनाउ दिएको छ । 

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा भएको आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९.२ ओभरमा दुई सय ६७ रनमा अलआउट भएको थियो । २ सय ६८ रनको विजयी लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालका ओपनर कुशलले ९४ बलमा एक सय एक रन बनाए । ३१औँ ओभरमा रिटायर्ट आउट हुनुअघि उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । 

दोस्रो विकेटका लागि कुशल र भीमबीच एक सय १५ रनको शतकीय साझेदारी भएको थियो । भीमले ७४ बलमा ९ चौका हान्दै ५६ रनको योगदान दिए । 

आजको खेलमा नेपाली ओपनर कुशल र आसिफ शेखले ७१ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफले २३ तथा कुशल मल्लले १७ रनको योगदान दिए । स्पिनर सन्दीप लामिछानेले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । 

एक समय ६.२ ओभरमा सात रन मात्र बनाउँदा चार विकेट गुमाइसकेको दयनीय अवस्थाबाट ओमानले खेलमा जबर्जस्त पुनरागमन गरेको थियो । ओमानलाई सानदार पुनरागमन गराउन कप्तान जिसान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय इनिङ खेले ।

सुझावित समाचार