खेल बिथोल्ने पहिचान पक्षधरको चेतावनी
कोसी प्रदेशस्तरीय मुख्यन्त्री कप फुटबल प्रतियोगिता असार ४ गतेदेखि ओखलढुंगामा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा ओखलढुंगामा यही असार ४ गतेदेखि ९ गतेसम्म जिल्ला सदरमुकामको खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।
बुधबार सुनसरीको इटहरीमा बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएका हुन् । माथिल्लो सगरमाथा क्षेत्रमा पहिलोपटक प्रदेशस्तरीय प्रतियोगिता हुने भएकाले सबैको सहयोग आवश्यक रहने बताए ।
प्रतियोगिताले समग्र खेल क्षेत्रमा टेवा पुग्नुको साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतियोगिता सफल बनाउन सहयोग गर्न अध्यक्ष वाग्लेले आग्रह गरेका छन् । प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाको सहभागिता रहनेछ । ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद एक लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पाँच हजार प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले पाँच हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।
प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर तीन सयजना ओखलढुंगा आउने बोर्डले जनाएको छ । प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । यसअघि बोर्ड र मन्त्रालयबीचको विवादका कारण जेठ १ गते हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगिता सञ्चालन हुने निश्चित भएसँगै जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले तयारीलाई तीव्रता दिएको छ । खेलमैदान तयारीसँगै अन्य व्यवस्थापनको तयारी गरिएको समितिका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए ।
खेल बिथोल्ने पहिचान पक्षधरको चेतावनी
ओखलढुंगाका पहिचान पक्षधरका अगुवाले मुख्यमन्त्री कप बिथोल्ने चेतावनी दिएका छन् । कोसी नामकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर मुख्यमन्त्री कपमा मुख्यमन्त्रीसहितका मन्त्री, सांसद र प्रदेश सरकारका उच्चपदस्थ व्यक्तिहरूलाई कार्यक्रममा नआउन–नल्याउन, कार्यक्रमको प्रचार सामग्री र मुख्यमन्त्री कपको उद्घाटन र समापनको ब्यानरमा प्रदेशको नाम कोसी नलेख्न आग्रह गरेको छ । संघर्ष समितिले आफ्नो माग पूरा नभए खेल बिथोल्ने चेतावनी दिएको छ ।