चुनौतीबीच साफमा सहभागी हुँदै नेपाल

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीले ६ असारदेखि भारतको बेंग्लोरमा हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा सहभागी जनाउँदै छ । नेपाल साफ च्याम्पियनसिपको साबिक उपविजेता हो । तीन वर्षअघि नेपालले फाइनल खेल्दाका अधिकांश खेलाडी विदेश भासिएका छन् । प्रशिक्षक भिसेन्जोले साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्दा तीन नयाँ खेलाडीलाई स्थान दिएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकेलगत्तै नेपाली टोलीले फिलिपिन्समा अभ्यास खेलमा समेत सहभागिता जनाउनेछ । फिलिपिन्समा अभ्यास खेलसँगै नेपाली टोलीले भारतमा साफ च्याम्पियनसिप खेल्नेछ । 

लिगमा आबद्ध खेलाडीहरूको चेतावनीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न पाएन । छोटो अवधिका लागि भए पनि प्रशिक्षक भिसेन्जोले फिलिपिन्समा प्रशिक्षणको प्रबन्ध मिलाए । छोटो तयारी र मुख्य खेलाडी विदेश पलायन हुँदा नेपाली टोलीमा समस्या परेको कप्तान किरणकुमार लिम्बूले बताएका छन् । यसपटक नेपाली टोलीमा सर्वाधिक अनुभवी र सिनियर खेलाडीका रूपमा कप्तान लिम्बू नै हुन् । 

राम्रा तथा सिनियर खेलाडी एकपछि अर्को गरी विदेश जाँदा आफूलाई निकै दुःख लागेको कप्तान लिम्बूले बताए । फिलिपिन्समा अभ्यास खेल खेल्न जानुअघि उनले खेलाडी विदेशमा भविष्य बनाउन जानुपर्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिए । ‘नेपाली फुटबल जुन दिशामा गएको छ, त्यो सम्झिँदा दुःख लाग्छ,’ भावुक हुँदै लिम्बूले भने, ‘खेलाडी बिदेसिँदा नेपालको फुटबल अब के हुन्छ भन्ने मनमा डर छ ।’ नियमितजसो खेलाडी विदेशमा जाँदा नेपाली टोलीको सन्तुलनसमेत बिग्रेको उनको भनाइ छ । 

नियमित खेलाडी पलायनको समस्या
‘एकपछि अर्को खेलाडी विभिन्न मुलुकमा गइरहेका छन्, यसले टोलीको सन्तुलन मिलाउन गाह्रो हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा बिदेसिने खेलाडीले नेपाली फुटबललाई सबैभन्दा बढी पीडा दिएका छन् ।’ लामो समयसम्म एन्फाले ‘ए’ डिभिजन लिग निश्चित नगर्नु र व्यावसायिक फ्रेन्चाइज फुटबल प्रतियोगितासमेत नगर्दा खेलाडीले अस्ट्रेलियालाई नै मुख्य गन्तव्य बनाए । यो एक वर्षभित्र नेपाली फुटबलमा आएको परिवर्तन नै खेलाडी बिदेसिनु हो । ‘हरेक समूहका खेलाडी विदेश पलायन भइसकेका छन्,’ कप्तान लिम्बूले भने, ‘अहिले साफ खेल्न लागेको सबैजसो खेलाडी नयाँ छन् ।’ साफमा सहभागी हुने अधिकांश खेलाडीदेखि प्रशिक्षकसमेत नयाँ छन् । साफमा फिफा वरीयतामा राम्रो स्थानमा रहेका लेबनान र कुवेत पनि छन् । नेपालले कुवेत, साबिक विजेता भारत र पाकिस्तानको चुनौती सामना गर्नुपर्छ । 

बलिया प्रतिद्वन्द्वी
कप्तान लिम्बूले साफ च्याम्पियनसिपमा भारतसँगै लेबनान र कुवेत कडा प्रतिद्वन्द्वी भएको बताए । ‘अहिले कुवेत र लेबनानको आगमनसँगै हामीले धेरै चुनौती सामना गर्नुपर्छ,’ उनले भने, ‘पाहुना टोलीको उपस्थितिले खेल नै फरक हुन सक्छ ।’ कप्तान लिम्बूले उचित प्रशिक्षण गर्न नपाएको समस्या सुनाए । ‘हामीले समयमै प्रशिक्षण गर्न पाएनौँ, टोलीमा धेरै खेलाडीले डेब्यु नै गरेका छैनन्,’ उनले भने, ‘सबै पक्ष नयाँ हुँदा साफ च्याम्पियनसिपमा हाम्रो प्रदर्शन कस्तो हुन्छ भन्न सकिन्न ।’ यद्यपि, उनले नेपालको साफ जित्ने सपना बाँकी रहेको सुनाए । उनी भन्छन्, ‘हाम्रो प्रयास भनेको साफ च्याम्पियन हुनु नै हो, यो सपना अझै पनि बाँकी नै छ ।’ नेपालले समूह ‘ए’ मा ६ असारमा कुवेतसँग खेल्नेछ । ९ असारमा भारत र १२ असारमा पाकिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ । 

See More On

सुझावित समाचार