अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्।
बजेटमा उठेका प्रश्नको सोमबार संसद्मा जवाफ दिने क्रममा डा. महतले भने, ‘सुनको भन्सारदर विगतदेखि नै भारतमा लाग्ने महसुल दरअनुरूप समायोजन गर्ने गरिएकोमा चालू आर्थिक वर्षको बजेटले भारतमा वृद्धि गरेको भए तापनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो। त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो।’
भारतमा मूल्यगत आधारमा महसुलका लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको, तर नेपालमा प्रति १० ग्राम आठ हजार पाँच सय रुपैयाँ मात्र रहेको उनको भनाइ छ। परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उतारचढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए।