ग्लोबल आइएमई बैंकले पोखराको लेखनाथस्थित बेगनास ताल डुंगा व्यवसायी समितिलाई लाइफ ज्याकेट सहयोग गरेको छ । बैंकको बेगनास शाखाले समितिलाई ४० थान ज्याकेट सहयोग गरेको हो ।
बेगनासस्थित मन्धरेपार्कमा आयोजित कार्यक्रम पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, बैंकका गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशी, बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीलले समितिका अध्यक्ष रविराज कँडेललाई सहयोग गरिएका ज्याकेटहरू हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरणपछि वडाध्यक्ष कँडेलले वडामा रहेका संघ–संस्थाको आपसी सहयोग र एकताले मात्र यस क्षेत्रको विकास हुने भएकाले वडा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए ।
बैंकका प्रदेश प्रमुख जोशीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विभिन्न काममा सहयोग गर्दै आएको र सोही क्रममा समितिलाई सहयोग गरेको जानकारी दिएका थिए । डुंगा समितिका अध्यक्ष कँडेलले प्राप्त ज्याकेटका कारण तालमा डुंगा सयर गर्नेहरूको सुरक्षाका लागि सहयोग मिल्ने बताएका थिए ।