गत मंसिरको संसदीय निर्वाचनमा अप्रत्याशित मत पाएको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारको आक्रामक अभियानमा जुटेको छ । निर्वाचनमा प्राप्त मतलाई संगठनमा ढाल्ने र आगामी निर्वाचनका लागि तयारी गर्ने योजनासहित रास्वपा पार्टी बलियो बनाउने रणनीतिमा छ । अन्य दलका भन्दा रास्वपाको संगठन निर्माणको शैली र प्रक्रिया केही फरक छ ।
विशेष गरी पार्टीका महामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी संगठन विस्तारका लागि आफैँ विभिन्न जिल्ला पुगेका छन् । स्थापना भएको एक वर्ष नपुग्दै रास्वपाले ७४ जिल्लामा आफ्नो संगठन बनाएको छ । डोल्पा, हुम्ला र रुकुम पश्चिमबाहेक सबै जिल्लामा संयोजक र सहसंयोजक तोकिएको पार्टीका सहमहामन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख बुर्लाकोटीले बताए ।
बुर्लाकोटीका अनुसार अनलाइन–अफलाइन गरेर करिब एक लाख २१ हजारले पार्टी सदस्यता लिइसकेका छन् । ६३ हजार तीन सय ७६ को सदस्यता आवेदन भने ‘भेरिफाइ’ हुन बाँकी छ । यो वर्षभित्र चार लाख सदस्य पुर्याउने रास्वपाको लक्ष्य छ । धेरै सदस्यभन्दा गुणस्तरीय सदस्य रास्वपाको लक्ष्य रहेको सहमहामन्त्री बुर्लाकोटी बताउँछन् ।
‘हाम्रो सदस्यता स्वेच्छिक हो । कुनै पनि फौजदारी अभियोग नलागेको, निर्विवाद र समाजमा राम्रो प्रतिष्ठा भएको इमानदार व्यक्ति पार्टी सदस्य हुने योग्य रहन्छ । सम्भवतः हाम्रो सदस्यता अभियान चार लाखमै सीमित हुन्छ होला । धेरै सदस्य बनाउने नीति छैन, गुणस्तरीय सदस्य बनाउने अभियानमा छौँ,’ उनले भने, ‘धेरै सदस्य बनाउनु भनेको धेरैलाई राजनीति गर्नु भनेको हो, जुन हामी चाहँदैनौँ ।’
कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री, रास्वपा
हाम्रो सदस्यता स्वेच्छिक हो । कुनै पनि फौजदारी अभियोग नलागेको, निर्विवाद र समाजमा राम्रो प्रतिष्ठा भएको इमानदार व्यक्ति पार्टी सदस्य हुने योग्य रहन्छ । सम्भवतः हाम्रो सदस्यता अभियान चार लाखमै सीमित हुन्छ होला । धेरै सदस्य बनाउने नीति छैन, गुणस्तरीय सदस्य बनाउने अभियानमा छौँ । धेरै सदस्य बनाउनु भनेको धेरैलाई राजनीति गर्नु भनेको हो, जुन हामी चाहँदैनौँ ।
केन्द्रदेखि पालिकासम्म ठूलो आकारको समिति नबनाउने रास्वपाको नीति छ । उपनिर्वाचनसहित गरेर एक सय ३३ क्षेत्रबाट उम्मेदवारी दिएको रास्वपा अहिले देशभर संगठन विस्तारमा लागेको हो । उसले गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ पाएको ११ लाख ३० हजार तीन सय ४४ मतलाई संगठनमा रूपान्तरण गरेर जोगाइराख्न रास्वपाले सक्रियता बढाएको हो । अचेल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रहेका दुवै डेस्क पार्टी सदस्यता लिन इच्छुकहरूको भिडले भरिभराउ छन् । भुइँतलाबाट माथि पहिलो तलामा चढेपछि पार्टीको संगठन विभागको सचिवालय उस्तै व्यस्त छ ।
हालै मात्र उसले देशभर निर्वाचन क्षेत्र समिति गठन गरेको छ । पाँच सदस्यीय हुने समितिमा बस्नका लागि रास्वपाले आवेदन मागेको थियो । जसमा हालसम्म देशभरबाट एक हजार एक सय ९४ ले उम्मेदवारी दिएका थिए । आन्तरिक निर्वाचनमार्फत निर्वाचन क्षेत्र समिति गठन भएका छन् । ‘विशेष गरी स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा केन्द्रित भएर सक्रियता बढाउने गरी निर्वाचन क्षेत्र समिति गठन भएको बुर्लाकोटी बताउँछन् ।
त्यसअगाडि रास्वपाले सातवटै प्रदेशमा कमिटी गठन गरिसकेको छ । माघ २१ गते गण्डकीबाट सुरु भएको प्रदेश कमिटी गठन अभियान फागुन १३ मा कोसी प्रदेशमा पुगेर टुंगिएको थियो । प्रदेशअनुसार समिति संख्या फरक छन् । सुदूरपश्चिममा ३७, बागमतीमा ७७, कर्णालीमा २७, गण्डकीमा ४३ र लुम्बिनीमा ३३ सदस्यीय समिति गठन भएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाका कोसी प्रदेश संयोजक ओम भण्डारीको दाबीअनुसार एजेन्डा मन पराएर धेरैले सदस्यता लिएका छन् । ‘आवेदन दिएकामध्ये धेरैजसोले हाम्रा एजेन्डा मन पराइरहेका छन् । पार्टीभित्र रहेको प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकललगायतका एजेन्डालाई मन पराएको सुनिन्छ,’ उनले भने, ‘तपाईंहरूको पार्टी भ्रातृ संगठन नहुने रहेछ, त्यो एकदम मनपर्यो भन्ने पनि धेरै छन् । भ्रष्टाचाररहित नेपालको मुद्दाले मान्छेलाई छोएको छ । रास्वपाले केही गर्छ भन्ने परेको छ ।’
बागमती प्रदेश संयोजक अछुतम लामिछानेले ‘समर्थन घन्टीलाई, समर्पण राष्ट्रलाई’ भन्दै संगठन विस्तारमा लागिरहेको बताए । ‘रास्वपाको बेथितिविरुद्धको आन्दोलनलाई जनताले मन पराइरहेका छन् । अहिलेसम्म शासन गरिरहेका दलहरूबाट जनता आजित भएको देखिन्छ । राष्ट्रियताको सवालमा जनता हाम्रो एजेन्डानजिक देखिन्छन्,’ उनको भनाइ छ, ‘सत्ता टिकाउने नाममा ठूला पार्टीहरूले गरेका विभिन्न सन्धि–सम्झौताप्रति जनताको वितृष्णा सुनिन्छ । हामीले अहिलेसम्म ठूलो केही काम नगरे पनि यसले गर्छ भन्ने विश्वास र आशा देखिन्छ ।’
रास्वपाको जिल्ला कमिटी भने दुई सदस्यीय मात्रै छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै तोकिने व्यवस्था रहेको बुर्लाकोटीले बताए । ‘प्रदेशलाई अधिकारसम्पन्न बनाउने हाम्रो नीति छ । जिल्ला समन्वय बैठक वर्षमा दुईपटक गर्नुपर्ने प्रावधान छ,’ उनले भने, ‘जिल्लामा रहेका कार्यालय पनि हटाएर प्रदेशमा सारेका छौँ । अरू पार्टीको प्रदेश कमजोर, जिल्ला बलियो देखिन्छ । तर, हाम्रोमा प्रदेशले बढी समन्वयकारी भूमिका खेल्नुपर्ने बनाएका छौँ ।’
बुर्लाकोटीका अनुसार रास्वपाले अहिलेसम्म देशभरका करिब दुई सय ७० पालिका र सात सय वडामा समिति गठन गरिसकेको छ । वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ । भदौसम्म देशभरका सबै वडा र पालिकामा कमिटी गठन गरिसक्ने रास्वपाको लक्ष्य छ ।
केन्द्रदेखि पालिकासम्म रास्वपाले कमिटी गठन गर्दा ३३ प्रतिशत महिला अनिवार्य राख्ने नीति लिएको छ । ‘बरु महिला संख्या नपुगेको ठाउँमा तत्काल खाली राख्छौँ, तर ३३ प्रतिशत पुर्याएरै छाड्छौँ,’ उनी भन्छन् । त्यस्तै, ५१ प्रतिशत ४५ वर्षमुनिका युवा हुनुपर्ने प्रावधान रहेको पनि उनले बताए । ‘भूगोलअनुसार कमिटीलाई समावेशी बनाएका छौँ । जस्तो कि खस–आर्यको कम उपस्थिति रहेको क्षेत्रमा उनीहरूलाई पनि समावेशिताका हिसाबले समेटेका छौँ,’ उनले भने ।
रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । यद्यपि, केन्द्रीय समितिको आकार एक सय २१ सदस्यीय रहेकाले बाँकी मनोनयनको क्रममा रहेको सहमहामन्त्री बुर्लाकोटीले बताए । ‘यति धेरै ठाउँ खाली राख्नुको कारण हामी हतारमा मनोनीत गरेर पछि पछुताउन चाहँदैनौँ । बिस्तारै गर्छौँ, तर राम्रा साथीहरू मात्रै जोड्न चाहन्छौँ । केन्द्र र प्रदेशका विभागमा उत्कृष्ट प्रदर्शन गर्ने साथीहरूलाई केन्द्रीय समितिमा ल्याउने तयारी छ,’ उनले भने ।
रास्वपाका अनुसार सदस्यता लिनेमा धेरै युवा छन् । ‘करिब ७० प्रतिशत सदस्य २५ वर्षदेखि ४५ वर्षसम्म पुगेको अनुमान छ । हामी १८ र ३५ का बीचका सदस्यमा बढी केन्द्रित हुन चाहन्छौँ । अहिले अनुमानित यो संख्या १० प्रतिशत पुगेको छ,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।
रास्वपाले पाँच वर्षको सदस्यता शुल्क एक हजार राखेको छ । यद्यपि, आर्थिक रूपमा विपन्नका लागि निःशुल्क दिने व्यवस्थासमेत गरिएको उनले बताए । ‘पैसाका कारण हाम्रो पार्टीको सदस्यता लिनबाट कोही पनि वञ्चित नहोस् भन्ने हो । अहिलेसम्म यसरी सात–आठजनाले निवेदन दिइसकेका छन्,’ उनले भने ।
प्रवासमा पनि संगठन
निर्वाचनमा विदेशमा रहेका नेपालीको मताधिकारको एजेन्डा उठाइरहेको रास्वपाले विदेशमा पनि संगठन विस्तार गरिरहेको छ । प्रवासी नेपाली समन्वय विभागका रूपमा विभिन्न देशमा कमिटी गठन भइरहेका छन् । बुर्लाकोटीका अनुसार अहिलेसम्म मलेसिया, दुबई, कतार, साउदी, जापान, कोरिया, युके र अमेरिकामा विभाग गठन भइसकेका छन् । बाँकी देशमा पनि गठन हुने क्रममा छ । विदेशमा रहेकाले पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था छ । ‘नेपालमा मात्रै होइन, विदेशमा पनि सदस्य बन्न इच्छुकको संख्या उत्साहजनक,’ उनले भने, ‘मलेसियामा मात्रै एक वर्षमा ५० हजार सदस्य पुर्याउने त्यहाँका साथीहरूको दाबी छ ।’ विदेश रहेका नेपालीका हकमा ‘पेमेन्ट सिस्टम’का कारण सदस्यता शुल्क उठाउन अप्ठ्यारो भइरहेको बुर्लाकोटीले बताए । उनका अनुसार विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
हाम्रो सदस्यता स्वेच्छिक हो । कुनै पनि फौजदारी अभियोग नलागेको, निर्विवाद र समाजमा राम्रो प्रतिष्ठा भएको इमानदार व्यक्ति पार्टी सदस्य हुने योग्य रहन्छ । सम्भवतः हाम्रो सदस्यता अभियान चार लाखमै सीमित हुन्छ होला । धेरै सदस्य बनाउने नीति छैन, गुणस्तरीय सदस्य बनाउने अभियानमा छौँ । धेरै सदस्य बनाउनु भनेको धेरैलाई राजनीति गर्नु भनेको हो, जुन हामी चाहँदैनौँ ।