कालीकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको छ । सेरी–पान्तडी सडकअन्तर्गत शुभकालिका गाउँपालिका– ६ गविरामा गएराति जिप दुर्घटना भएको हो ।
कालीकोटको बेउली–पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गरेको लु.१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा परेर जिपचालक शुभकालिका– २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले– ३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिमालले बताए । ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन,’ उनले भने, ‘जिपमा सवार तीनैजनाको मृत्यु भएकाे छ, देख्ने र घाइते अन्य कोही नभएकाले पनि दुर्घटनाकाे कारण खुल्न सकेको छैन ।’