विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको १० महिनामा रु. १४ खर्ब ७० अर्ब ३३ करोडबराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार ०७९ साल असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत  वैशाख मसान्तमा रु. १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो। 

अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा ०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा रु. १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा ०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा रु. एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा ०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु. एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ।  गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ।

आर्थिक वर्ष ०७९–८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

सुझावित समाचार