पुँजीगत लाभकरमा थप आयकर नलाग्ने

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

प्राकृतिक व्यक्तिले सूचीकृत धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा विद्यमान कर नै अन्तिम कर भएको र यसमा थप कुनै आयकर नलाग्ने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर रहेको जनाएको हो । 

आर्थिक विधेयक २०८० को दफा २९ लिएर लगानीकर्तामा असन्तुष्टि बढेपछि मन्त्रालयले स्पष्ट पारेको हो । यसअघि सेयर लगानीकर्ता र अर्थमन्त्री प्रकाशशरण महतबीच सो विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री महतले विद्यमान पुँजीगत लाभकर नै अन्तिम कर भएको बताएका थिए ।  

विधेयकले घरजग्गा तथा धितोपत्र कारोबार गर्दा थप आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्मको कारोबार घोषणा गरी आएमा उक्त आयकर तिर्ने सेयर व्यवसायीलाई ०८० चैतसम्म शुल्क तथा ब्याजमा ५० प्रतिशत मिनाहा गर्ने भनिएको थियो । यही बुँदालाई लिएर लगानीकर्ताले गत शुक्रबारदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । वार्ता गर्नुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कम्पनीहरूको टिएमएस बन्द गरेका थिए ।

अर्थ मन्त्रालयमा वार्ता टुंगिएपछि सेयर कारोबार किनबेच भएको हो । बजेटलगत्तै आन्तरिक राजस्व कार्यालयले विज्ञप्तिमार्फत विद्यमान कर नै अन्तिम कर लागू हुने बताए पनि लगानीकर्ताले पत्याएका थिएनन् । उक्त विधेयकको दफा २९ बुँदालाई संसद्बाट बजेट पारित हुनुभन्दा अघि नै हटाउने सहमति भएको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । उनले भने, ‘अर्थमन्त्रीलेज्यूले दफा २९ को बुँदाले लगानीकर्ता दिग्भ्रमित भएको पाइयो र यसलाई हटाऔँ भनेपछि सहमति बन्यो ।’ 

सेयर बजार ५३ अंकले बढ्यो 
अर्थमन्त्री र लगानीकर्ताबीच आयकर विद्यमान रहने गरी सहमति भएपछि नेप्से परिसूचक ५३ दशमलव शून्य ३ अंक अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ । बजेटपछि झन्डै सय अंकले घटेको थियो । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । करिब एक घन्टापछि मात्र कारोबार टिएमएस खुला भएपछि कारोबार सेयर किनबेच भएको थियो । सर्वाधिक सेयर किनबेच हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने सोल्टी होटेल, चिलिमे हाइड्रोपावर कम्पनीको सेयर बिक्री बढेको छ । 

सुझावित समाचार