१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत दोस्रो चरण छनोटको सोमबार महिला ५० किलो तौलसमूहमा नक्सालका सुष्मा तामाङले एचटुओका अस्मिता दुवाललाई ४–१ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्दै दोस्रो चरण पार गरेकी छिन् ।
५४ किलो तौलसमूहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अञ्जली तेलीलाई ३–२ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्दै दोस्रो चरण छनोट पार गरिन् । महिला ५७ केजी तौलसमूहमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी निता तामाङलाई ५–० का आधारमा पराजित गरिन् ।
६० किलो तौलसमूहमा एपिएफकी संगीता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिइन् । महिला ६६ किलो तौलसमूहमा एपिएफकी विनिता थापामगरले आर्मीका नीरु गुरुङलाई ५–० को युनानिमस डिसिजनमा हराइन् । ७५ किलो तौलसमूहमा एपिएफकी सरस्वती रानामगरले एपिएफ ‘बी’की मनिता राईलाई ५–० को युनानिमस डिसिजनमा पाखा लगाइन् ।
यसैगरी, पुरुषतर्फ ५१ किलो तौलसमूहमा एनपिसीका चन्द्र थापाले एचटुओका रविन थापालाई ३–२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । पुरुष ५७ किलो तौलसमूहमा एचटुओका बुद्धग्याल्मो लामाले बोसीगाउँका सुलभ मालीलाई ५–० का आधारमा हराए । पुरुष ६३.५ किलो तौलसमूहमा एनपिसीका भूपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरमाथि ५–० को युनानिमस डिसिजनका आधार सहज जित निकाले । ७१ किलो तौलसमूहमा आर्मीका दीपेश लामाले सुदूरपश्चिमका भरत चन्दलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गरेका छन् ।