दर्शकको डिमान्डपछि हलमा फर्कियो ‘हल्कारा’

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

रिलिजको तेस्रो हप्ताको सोमबारदेखि विश्वज्योति हलमा चलचित्र ‘हल्कारा’को सो थपिएको छ। विश्वज्योति हलका म्यानेजर रविन पौडेलका अनुसार लगातार दर्शकले सोध्न थालेपछि साँझ ६ बजेको सो राखिएको हो।

उनले भने, ‘विश्वज्योतिबाट पहिले नै उत्रिएको भए पनि केही दिनयता लगातार दर्शकहरूको माग आउन थालेपछि सो राखेका हौँ। सोमबार सानो हलमा राखिएको सो लगभग हाउसफुल भइसकेको छ। मंगलबारदेखि ठूलो हलमा पनि रिलिज गर्दै छौँ।’

त्यस्तै, सिडिसी सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रूपमा ‘हल्कारा’ चलिरहेको बताए। उनले कहिलेकाहीँ दुई सोसमेत चलिरहेको बताए।

चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भए पनि दर्शकको रोजाइमा परेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘मैले सोचेको थिएँ, प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरूको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन। तेस्रो हप्तामा आइपुग्दा भने नसोचेको भइरहेको छ।’ अभिनेता महेश त्रिपाठीले ढिलै भए पनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए।

प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिबलहरूमा अवार्डहरू हात परेको यो चलचित्रले समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। यस चलचित्र हल्कारामा महेश त्रिपाठी र विनिता थापामगर, प्रकाश दाहाल, स्व. दीपक क्षेत्री , शारदा गिरी ,पशुपति राईलगायतको अभिनय रहेको छ।

See More On

सुझावित समाचार