एन्फासँग रुष्ट समर्थकको प्यारापिटमै विरोध

फुटबल विकासभन्दा एन्फा आन्तरिक द्वन्द्वमा केन्द्रित भएको भन्दै समर्थकले खेल चलिरहकै वेला गरे प्रदर्शन

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल विकासको गतिविधिमा सक्रिय नभएको बन्दै समर्थकले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबबीचको खेल चलिरहँदा बुधबार समर्थकले एन्फाविरुद्ध प्लेकार्डसहित प्यारापिटबाट एन्फा नेतृत्वको विरोध गरेका हुन् । ३० जनाको समूहमा उपस्थित उनीहरूले ‘एन्फालाई लाज लाग्दैन ?’ भन्दै प्रश्न गरेका छन् । 

यसैगरी, अन्य प्लेकार्डमा ‘भ्रष्ट पदाधिकारीलाई रेड कार्ड, आकाशभरि चिलगाडी विदेशतिर खेलाडी, ‘खेलाडीलाई सधैँ सास्तीमा, पदाधिकारी मस्तिमा’, ‘ए डिभिजन लिगको यस्तो ताल, बी र सीको के छ हाल ?’ ‘नेपाली फुटबलको विकास साफ खेल्न जान १० दिनको प्रयास, वा एन्फा वा’, ‘हेर् त हेर् त गुटैगुट, एन्फाभित्र ब्रह्मलुट,’ जस्ता प्लेकार्ड देखाएका थिए । 

प्लेकार्डसहित उपस्थित भएका सीताराम दाहालले एन्फा सही दिशामा नभएको र फुटबलभन्दा राजनीतिमा तल्लिन रहेको नयाँ पत्रिकासँग बताए । ‘हामी एन्फाको पछिल्लो घटनाक्रमलाई हेरिरहेका छौँ । उहाँहरू फुटबल विकासभन्दा आन्तरिक झैझगडामै व्यस्त हुनुहुन्छ,’ काभ्रे पाँचखालका हाल शंखमूल बस्दै आएका दाहालले भने । 

बजेट अभावका कारण यू–२३ टोलीलाई एएफसी एसियन छनोटमा खेलाउन नसक्ने एन्फाले निर्णय गरिसकेको छ । समर्थकले पछिल्लोपटक नेपालको यू–२३ एसियन छनोटमा खेल्न नजाने एन्फा निर्णयको कडा विरोध गरेका छन् । साफ च्याम्पियनसिपका लागि खेलाडीलाई विश्राम नभएको र लिग व्यस्त तालिकाबीच जारी राखिएकोमा उनीहरूले आपत्ति जनाएका छन् । ‘उहाँहरू बजेटकै कारण प्रतियोगिता गर्न सकेनौँ । राष्ट्रिय टोलीलाई खेलाउन सक्दिनँ भन्नुहुन्छ । फुटबल विकासका लागि मेरुदण्ड मानिने ए डिभिजन लिग सक्काउनै हत्तार गर्नुहुन्छ,’ दाहालले भने, ‘साफ च्याम्पियनसिपलाई राम्रो तयारी राख्न सक्नुहुन्छ, सधैँ एन्फाभित्र आन्तरिक भागबन्डा मिलाउन र झगडा गर्नमै केन्द्रित देखिँदा हामीलाई राम्रो लागेको छैन ।’ 

एन्फा प्रवक्ता सुरेश शाहले यू–२३ नेपाली टोली र राष्ट्रिय टोलीको खेल एकैपटक पर्दा प्राथमिकतामा राष्ट्रिय टोली राखिएको बताएका छन् । ‘यू–२३ टोलीले एएफसी एसिया कप छनोट नखेल्ने कुरा सत्य हो । तर, आर्थिक अभावकै कारणभन्दा पनि राष्ट्रिय टोलीलाई प्राथमिकतामा राखेका हौँ,’ शाहले भने, ‘दुवै खेल एकैपटक भएको र यू–२३ टोलीका अधिकांश खेलाडी नै सिनियर टोलीभित्र रहेकाले प्राथमिकतामा राखेका हौँ ।’ प्रवक्ता शाहले एन्फाको निर्णयलाई जोगाउनखोजेका छन् । 

यसैबीच, डबल लिगको २१औँ चरण जारी रहँदा बी डिभिजन लिगको टुंगो लाग्न सकेको छैन । एन्फाले १५ चैतबाट बी डिभिजन लिग आयोजना गर्ने बताए पनि दुईपटक मिति सारेर पनि प्रतियोगिता गर्न सकेको छैन । मंगलबार बसेको १४ क्लब र एन्फा पदाधिकारीको बैठक निर्णयमा नपुग्दा अर्को सातालाई बैठक बोलाइएको छ ।

See More On

सुझावित समाचार